रमेश कुमार यादब
भदौं ०६, रौतहट जिल्ला प्रहरी कार्यालय रौतहटले चाडपर्वको समयमा प्रशासनको अनुमति बिना नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ ।
बिहीबार प्रहरी नायब उपरीक्षक (डीएसपी) एलिजा गिरीद्वारा जारी गरिएको प्रेस नोट अनुसार, यस प्रकारका गतिविधिहरूले शान्ति सुरक्षा खलल पुर्याउने र सामाजिक सद्भाव विथोल्ने सम्भावना रहेको भन्दै यसमा कडा निगरानी राखिने बताइएको छ । प्रहरीले चाडपर्वको अवसरमा आयोजना गरिने कार्यक्रमहरूमा विशेष ध्यान दिने र स्थानीय प्रशासनसँग अनुमति नलिइ कुनै पनि प्रकारको नाचगान, सांस्कृतिक कार्यक्रम, वा मनोरञ्जनात्मक गतिविधि गर्न नपाइने निर्णय गरेको हो। यस निर्णयलाई उल्लंघन गर्ने व्यक्तिहरू वा समूहहरूलाई कानूनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।
अधिकार प्राप्त अधिकारी÷निकायको अनुमतिविना विभिन्न चाडपर्वको नाममा गाउँगाउँमा दिन र रातको समयमा अश्लीलता झल्किने किसिमका भोजपुरी गीत गाउने, लवण्डा नचाउने, आर्केस्टा नचाउने, मनोरञ्जनको नाममा जुवा जेल्ने÷खेलाउने जस्ता कारण विभिन्न ठाउँमा एक आपसमा झैझगडा तथा कुटपिट गर्ने, ढुङ्गामुढा गर्ने, विभिन्न मानिसको धन सम्पत्ति क्षति हुन गएको कारण यस प्रकारको निर्णय लिइएको उनको भनाइ छ ।
धार्मिक, सांस्कृतिक, राजनैतिक आदि कुनै किसिमको नाचगान हुने वा भिडभाडजस्ता कार्यक्रम गर्दा अनिवार्य रूपमा कार्यक्रम गर्ने आयोजक पक्षले कार्यक्रम सञ्चालक समिति गठन गरी के(कस्तो कार्यक्रम गर्ने, कुन समयमा गर्ने, कुन स्थानमा गर्ने, सहभागी सङ्ख्या कति गर्ने लगायतका विषयवस्तु खुलाइ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायबाट अनुमति लिई सम्बन्धित निकायबाट तोकिए अनुसार कार्यक्रम गर्न र गराउन जिल्ला प्रहरी कार्यालय रौतहटले सूचित गराएको छ ।
तोकिएको भन्दा फरक किसिमको कार्यक्रम वा गतिविधि गरेको पाइएमा सोको जिम्मेवार आयोजक पक्ष नै हुने चेतावनी पनि प्रहरी नायव उपरीक्षक गिरीद्वारा जारी प्रेस नोटमा दिइएको छ । यसैबीच, स्थानीय प्रशासनले पनि नागरिकहरूलाई चाडपर्वको समयमा शान्ति र सुव्यवस्था कायम गर्न सहयोग गर्न आग्रह गरेको छ। साथै, कुनै पनि अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई तुरुन्त
जानकारी गराउन नागरिकहरूलाई अनुरोध गरिएको छ।