वर्तमानकाल सम्वाददाता
भदौं ०७ गते ।
महागढीमाई नगरपालिका विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला २०८१ को तयारीमा तिव्र गतिमा जुटेको छ। नगर प्रमुख उपेन्द्र यादवका अनुसार यसपालिको मेलालाई ऐतिहासिक र अविस्मरणीय बनाउने लक्ष्यका साथ विभिन्न तयारीहरू भइरहेको छ। बरियारपुरस्थित गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने यो मेलालाई व्यवस्थित बनाउन विभिन्न अत्यावश्यक कार्यहरू धमाधम
भइरहेका छन्।
मेलामा आउने लाखौं श्रद्धालु भक्तजनहरूको सुविधाका लागि पार्किङ व्यवस्थापनदेखि सुरक्षासम्मको विस्तृत योजना बनाइएको छ। पार्किङ व्यवस्थापनको कामलाई अघि बढाउन दक्ष प्राविधिक टोली खटाइएको छ। नगर प्रमुख यादवका अनुसार, पूर्व, पश्चिम, उत्तर र दक्षिण दिशामा ठूला गाडी, हलुका सवारी साधन र दुईपांग्रे सवारी साधनका लागि पार्किङ स्थलहरू छनोट गरिसकिएको छ।
मेलाको प्रचार–प्रसार र उद्धघाटनको तयारीका लागि विभिन्न शक्तिपीठका गुरुहरू, राष्ट्र प्रमुख, मन्त्रीहरू, उद्योगपति लगायत विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणा पठाउने काम सुरु भइसकेको छ। यसैगरी, मेलाका लागि खानेपानी व्यवस्थापन गर्न १०० भन्दा बढी सार्वजनिक धाराहरू जडान गरिएको छ।
भारतका विभिन्न स्थानहरूबाट गढीमाईसम्मको बाटो कालोपत्रे गरिएको छ र बाँकी रहेका सडकहरूको काम छिट्टै पूरा गरिने नगर प्रमुख यादवले बताए। मेलामा सुरक्षाका लागि नगर प्रहरीहरूको संख्या बढाइएको छ, साथै नगरपालिकाका मठमन्दिरहरूको दैनिक सरसफाइ कार्यलाई तिव्रता दिइएको छ ।
यस वर्षको गढीमाई मेला दशैंको घटस्थापनाको दिन अर्थात् आश्विन १७ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शोभायात्रा गरी भव्य रूपमा उद्घाटन गरिने योजना रहेको छ। मेलाको तयारीका आवश्यक ८० प्रतिशत कार्य पूरा भइसकेको नगर प्रमुख यादवले जानकारी दिए।