वर्तमानकाल सम्वाददाता
भदौं ०७, रौतहट
रौतहट जिल्लाको शिवनगरधाम मन्दिर, जुन यस जिल्लाको एक महत्वपूर्ण धार्मिक स्थल मानिन्छ, वर्तमानमा अत्यन्तै खराब अवस्थामा पुगेको छ। स्थानीय समाजिक अभियन्ता शैलेन्द्र प्रसाद यादवले मन्दिरको लथालिङ्ग अवस्थालाई लिएर स्थानिय सरकारप्रति गम्भीर आरोप लगाएका छन्। यादवका अनुसार, शिवनगरधाम मन्दिरलाई संरक्षण र संवर्धन गर्ने दिशामा स्थानिय सरकारले कुनै ठोस कदम चालेको छैन।
उहाँले पहिलेको स्थानिय सरकारमाथि पनि उस्तै आरोप लगाउँदै अहिलेको नगर प्रमुख कन्थमनि प्रसाद जैसावललाई समेत तीव्र आलोचना गरेका छन्। “जुन जोगी आयो, कानै चिरेको“ भन्ने उखान उल्लेख गर्दै यादवले भने, “पहिलाको भन्दा अहिलेको स्थानिय तहले झनै आफ्नो आसेपासेलाई पोस्ने काम मात्र गरेको छ ।
“ उहाँले मन्दिरको पर्यटन प्रवर्धनमा नगर प्रमुखले कुनै ध्यान नदिएको बताउँदै, धार्मिक स्थलको महत्व र त्यसको संरक्षणका लागि आवश्यक रहेको कार्यहरूमा बेवास्ता भएको आरोप लगाए। “जनताको विकासको लागि भनेर आश पालेका थियौँ, तर अहिलेको स्थानीय सरकार अझै कमिसनमा मात्र लिप्त भएको छ,“ यादवले थपे ।
यसैबीच, स्थानियहरूले पनि मन्दिरको स्थितिप्रति चिन्ता व्यक्त गर्दै, स्थानीय तहलाई जिम्मेवारी बोध गराउने प्रयास गर्दै आएका छन्। शिवनगरधाम मन्दिर, रौतहट जिल्लाको सबैभन्दा पुरानो र पवित्र धार्मिक स्थलको रूपमा चिनिन्छ, जसको धार्मिक, सांस्कृतिक र पर्यटन महत्व अत्यन्तै उच्च छ । तर उक्त मन्दिरको अवस्था एकदमै चिन्ता जनक रहेको बताईएको छ । सो मन्दिरमा वर्षभरिमा करिब १० देखि १५ वटा विभिन्न प्रकारका मेला लाग्ने गर्दछ ।
यस्ता मेला स्थानीय संस्कृतिको महत्वपूर्ण हिस्सा बनेका छन्, जसले धार्मिक आस्था र सामाजिक एकतालाई बलियो बनाएको छ । यस मन्दिरमा हप्तामा दुई दिन बजार लाग्ने गर्दछ, जसले स्थानीय बासिन्दाहरूलाई आवश्यक सामानहरू किन्न र बेचनको अवसर प्रदान गर्दछ । त्यति मात्र नभएर सो मन्दिरमा दैनिक रूपमा २ सय देखि लिएर ५ सयसम्म भक्तजनहरू पूजा(अर्चनाका लागि आउने गर्छन् । त्यति मात्र नभएर आइतबारको दिन भने यो संख्या अझै धेरै बढेर १ हजार ५ सय भन्दा बढी हुन्छ ।
यो दिन विशेष रूपमा धार्मिक महत्व हुने भएकाले भक्तजनहरूको ठूलो भीड मन्दिरमा देख्न सकिन्छ । मन्दिरमा भक्तजनहरूको भीडभाड भए पनि पर्यटनको दृष्टिकोणले यो मन्दिरको अवस्था दयनीय छ । मन्दिरमा आउने रकमको हिसाब(किताब सही ढंगले राखिएको भए तापनि मन्दिरको समग्र विकास र पर्यटनको प्रवर्धनका लागि ठोस कदम चालिएको छैन । यस कारणले मन्दिरको अवस्थालाई अझै सुधार गर्न आवश्यक देखिन्छ ।
मन्दिरमा हरेक दिन आउने भक्तजनहरूका लागि कुनै सुविधा वा सेवा उपलब्ध गराइएको छैन । त्यहाँ यति भिडभाड हुने र लाखौं भक्तजनहरु आउदा पनि यो स्थानलाई राष्टिूय सम्पदा सुचिमा नपर्नुको प्रमुख कारण के हुन सक्छ ? यसमा नगर प्रमुख जैसवाल सहित स्थानिय अग्रजहरुको गुपचुप रहनु माथि ठुलो प्रश्न चिन्ह खडा हुन थालेको छ ।
त्यति मात्र नभएर हाल मन्दिरको संरचनात्मक अवस्था, सरसफाइ, र अन्य आधारभूत सुविधाहरूको अभावले गर्दा भक्तजनहरू मन्दिरमा आउन हिचकिचाउँछन्। साथै, यस मन्दिरको प्रचारप्रसार र पर्यटन प्रवर्धनका लागि कुनै ठोस कार्यक्रमहरू सञ्चालनमा नआउनु दुःखद पक्ष भएको स्थानियहरूको भनाई छ । समाजिक अभियन्ता यादवले मन्दिरको पुनःनिर्माण, मर्मतसम्भार, र व्यवस्थापनका लागि स्थानिय तहले तत्काल कदम चाल्नुपर्ने माग गरेका छन्।
“धार्मिक स्थलहरू हाम्रो संस्कृति र परम्पराको धरोहर हुन्, यिनीहरूको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्छ,“ उहाँले जोड दिए । यसै सन्दर्भमा, नगर प्रमुख कन्थमनि प्रसाद जैसावलले भने अभियन्ताको आरोपप्रति कुनै प्रतिक्रिया दिएका छैनन् । तर, स्थानिय तहको यथाशीघ्र ध्यान नदिइने हो भने शिवनगरधाम मन्दिरको अवस्था अझै दयनीय बन्ने खतरा रहेको स्थानियहरूको चेतावनी छ ।