बिमलेश कुमार झा
१० भदौ,रौतहट।
रौतहटको गढीमाई नगरपालिका संस्थागत क्षमता स्वमुल्यांकनको गुणस्तर परीक्षणमा जिल्लाका सबै स्थान तहभन्दा कमजोर देखिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमुल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक गर्दा गढीमाई नगरपालिकाले २०.५ अंक प्राप्त गरि जिल्लाका सबै स्थानीय तहभन्दा कमजोर साबित भएको हो ।
मन्त्रालयले भदौ ६ गते सार्वजनिक गरेको सुचनामा स्थानीय तहहरुले प्राप्त गरेको अंकका बारेमा जानकारी दिएको छ ।
सो प्रतिवेदन अनुसार रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ७ स्थानीय तहले ५० अंक समेत कटाउन सकेको छैन।
रौतहटको सबभन्दा उच्चतम अंक गौर नगरपालिकाकाले ८०.०० अंक प्राप्त गरेको छ भन्ने सबभन्दा कम अंक गढीमाई नगरपालिकाले २०.५० अंक प्राप्त गरेको छ।
स्थानीय तहले असार १० भित्र बजेट ल्याए-नल्याएको, असार मसान्त भित्र बजेट स्वीकृत गरे नगरेको, लेखा परीक्षणले औँल्याएको खर्च, बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेको लगायतका सूचकमा कार्यसम्पादन मूल्याङकन हुने गर्छ ।
जस अन्तर्गत गढीमाई नगरपालिकाले हरेक कार्यमा कमजोर अंक प्राप्त गरेको मूल्यांकन नतिजामा देखाईएको छ।
रौतहटको स्थानीय तहमध्ये ५० अंक समेत कटाउन नसकेको स्थानीयतहहरु मध्ये सबभन्दा कम गढीमाई नगरपालिका २०.५ रहेको छ भन्ने फतुवा विजयपुर नगरपालिका २४.००,बौधिमाई नगरपालिका ३४.००,बृन्दाबन नगरपालिका ३९.५०,मौलापुर नगरपालिका ४२.७५,गुजरा नगरपालिका ४४.७५ र यमुनामाई गाउपालिकाले ४६.०० अंक प्राप्त गरि कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएको हो।
त्यस्तै गरुडा नगरपालिकाले ७१.७५ अंक प्राप्त गरि उत्कृष्ट दोस्रो स्थानमा छ भन्ने राजपुर नगरपालिकाले ७१.०० अंक प्राप्त गरि तेस्रो स्थानमा रहेको छ।
त्यस्तै चन्द्रपुर नगरपालिका ६७.७५, राजदेवि नगरपा ६४.००, परोहा नगरपालिका ६२.७५, दुर्गाभगवती गाउपालिका ६१.२५, माधव नरायण नगरपालिका ६०.००, ईशनाथ नगरपालिका ५५.७५, देवाही गोनाही नगरपालिका ५४.२५ र कटहरिया नगरपालिकाले ५३.७५ अंक प्राप्त गरेको छ।
स्थानीय तहको संस्थागत स्वमूल्यांकन आर्थिक वर्ष २०७६/०७७ बाट सुरु गरिएको भएपनि मन्त्रालयले पहिलो पटक गुणस्तर परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको प्रवक्ता काली प्रसाद पराजुलीले जानकारी दिए ।