वर्तमानकाल सम्वाददाता
असोज ०८ गते ।
नेशनल पिपुल्स पावर (एनपीपी) की सांसद डा. हरिनी अमरासूर्या श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् ।उनले मंगलबार नै राष्ट्रपति अनुरा कुमारा दिशानायकेसँग पद तथा गोपनीयताको शपथ लिएकी छन् ।शनिबार सम्पन्न राष्ट्रपति निर्वाचन वामपन्थी दिशानायकेले जितेका थिए । उनले सोमबार शपथ लिएलगत्तै प्रधानमन्त्री दिनेश गुणवर्धनेले राजीनामा दिएका थिए ।२२५ सदस्यीय संसदमा एनपीपीका डा. अमरासूर्यासँगै विजिथा हेराथ र लक्ष्मण निपुण अराग्ची मात्र सांसद थिए ।
राष्ट्रपति दिशानायकेले अमरासूर्यालाई प्रधानमन्त्री र हेराथलाई मन्त्री नियुक्त गरेका छन् । साथै उनले आजै मध्यरातबाट संसद भंग गर्ने श्रीलंकाली सञ्चार माध्यमहरुले जनाएका छन् ।रक्षा, अर्थसहितका मन्त्रालय राष्ट्रपति दिशानायकेले आफैंसँग राखेका छन् । प्रधानमन्त्री अमरासूर्यालाई शिक्षा, विज्ञान र प्रविधि लगायतका मन्त्रालय दिइएको छ भने विदेश मामिलासहितका मन्त्रालय
हेराथलाई दिइएको छ ।
को हुन् अमारासूर्या ?
कोलम्बोकी ५४ वर्षीया अमारासूर्याले एडिनबर्ग विश्वविद्यालयबाट विद्या वारिधी गरेकी छन् । उनी महिला अधिकारकर्मीसमेत रहेकी उनी प्राध्यापनमा पनि संलग्न थिइन् ।तर २०१९ को राष्ट्रपति चुनावका बेला उनी दिशानायकेको चुनावी अभियानमा सहभागी भइन् । अर्को वर्ष २०२० मा जनता विमुक्ति पेरामुना (जेजेपी) ले उनलाई सांसदको टिकट दियो र, उनले चुनाव जितिन् पनि ।मंगलबार उनी प्रधानमन्त्री बनिन् । श्रीलंकाको इतिहासमा सिरिमाओ बन्दारानायके र चन्द्रिका कुमारातुङ्गापछि तेस्रो महिला प्रधानमन्त्री हुन् ।