रौतहट । असोज १२ गते ।
रौतहटको कटहरिया नगरपालिका-१ झौवा बडेर्वा बकैया नदीले बाँध फुटेपछि बाढीको पानी बस्तीमा प्रवेश गरेको छ । त्यस्तै दुर्गा भगवती गाउपालिका वडा नम्बर-५ बडहर्वामा बागमती नदीको बाँध फुटेपछि बाढीको पानी बस्तीमा प्रवेश गर्न थालेको छ।
बाँध भत्किएसँगै आएको बाढीको भेलले बडहर्वाका सयौं बासिन्दालाई घर छाड्न बाध्य बनाएको छ। बासिन्दाहरू आफ्ना सामग्री सुरक्षित स्थानमा लैजान हतारो गर्दैछन्।
यस्तै गढीमाई नगरपालिकाको धरमुरको बाध भत्किएर खेतीयोग्य जमिन डुबानमा परेको छ। जिल्लाका पूर्व बागमती र पश्चिम लालबकैया नदी सहित अन्य खोलामा एकै पटक आएको बाढिले सदरमुकाम गौर सहित दर्जन बढी बस्तीमा डुबानको खतरा बढेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
स्थानीय प्रशासनले बाढी नियन्त्रणमा प्रयास गरिरहेको भए पनि, अविरल वर्षाले उद्धार कार्यमा कठिनाइ थपिएको छ। विपद् व्यवस्थापन टोली तयारी अवस्थामा रहेको प्रशासनले जानकारी दिएको छ।