रमेश कुमार यादब
असोज १४, रौतहट
रौतहट जिल्ला अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चाडपर्वको अवसरमा सुरक्षा व्यवस्था कडा बनाउने उद्देश्यले विशेष गस्ती टोली परिचालन गरेको छ । जिल्लाको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती तथा लुटपाट जस्ता आपराधिक घटनाहरुलाई रोकथाम गर्न विशेष सतर्कता अपनाएको छ। प्रहरीले सुरक्षा रणनीतिको रूपमा विशेष गस्ती टोलीलाई सहरका संवेदनशील क्षेत्रहरूमा परिचालन गर्दै, बैंक तथा वित्तीय संस्थाका वरिपरि सुरक्षाको घेरा कस्दै गरेको छ।
यस अन्तर्गत, वडा क्षेत्रका बैंक, वित्तीय संस्था, सुनचाँदी पसल लगायतका अन्य महत्वपूर्ण आर्थिक गतिविधि हुने स्थानहरुलाई लक्षित गर्दै विशेष गस्ती टोली परिचालन गरिएको छ । सोमबार देखि नै गस्ती टोलीले प्रभावकारी ढंगले निगरानी कार्य सुरु गरिसकेको छ। यस क्रममा, गस्ती टोलीले बैंक तथा वित्तीय संस्थाहरूको सुरक्षा जाँच गर्नुका साथै सुनचाँदी पसलहरूमा हुन सक्ने सम्भावित जोखिमहरूलाई पनि गम्भीरताका साथ लिएर सुरक्षा व्यवस्था कडा बनाएको छ। साथै, ती स्थानहरूमा उच्चस्तरीय निगरानी कायम गर्नका लागि सीसीटीभी cctv क्यामेरा मार्फत पनि निरन्तर निरीक्षण गरिने भएको छ। प्रहरी कार्यालयले व्यवसायीहरूलाई समेत सुरक्षाको मापदण्ड पालन गर्न आग्रह गरेको छ।
यसै सन्दर्भमा, सम्भावित आपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न र जनताको विश्वासलाई बढावा दिन प्रहरी प्रशासनले सम्पूर्ण स्रोतसाधनको प्रयोग गर्ने जनाएको छ। सार्वजनिक सूचना र सचेतना कार्यक्रमहरूको आयोजना गरेर स्थानीय व्यवसायी, सर्वसाधारण, र वित्तीय संस्था सञ्चालनकर्ताहरूलाई पनि सतर्क रहनका लागि अपिल गरिएको छ। चाडपर्वको समयमा हुने भीडभाडको फाइदा उठाउँदै आपराधिक क्रियाकलाप गर्नेहरूको विरुद्ध कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ। चाडपर्वको माहोललाई सुरक्षित र शान्तिपूर्ण बनाउने उद्देश्यले गरिएको यस पहलले स्थानीय व्यवसायी र सर्वसाधारणले सहज रूपमा आफ्नो दैनिकी सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्ने विश्वास गरिएको छ।