रौशन कुमार चौधरी
असोज १४, रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा जनता र जनप्रतिनिधिहरू बीच संवाद गर्नका लागि विशेष कार्यक्रमको आयोजना गरिएको छ । आउँदै गरेको नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दिपावली, तथा छठ पर्वको अवसरमा आयोजना गरिएको यो कार्यक्रम वडा नम्बर ८, पिप्रा पोखरियामा सम्पन्न भएको हो । यस कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष शमिस विक्रम शाहले गरेका थिए भने नगर प्रमुख अजय प्रकाश जयसवालले कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका निर्वाचित जनप्रतिनिधिहरू, स्थानीय भद्रभलाद्मीहरू, समाजसेवी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।शुभकामना आदानप्रदान कार्यक्रमको उद्देश्य स्थानीय बासिन्दाहरूसँग जनप्रतिनिधिहरूको सघन संवाद, चाडपर्वको शुभकामना सन्देश प्रवाह, तथा नगरपालिकाले चालू आर्थिक वर्षमा सञ्चालन गर्ने विकासका योजना र आगामी कार्यहरूका बारेमा छलफल गर्नु थियो।नगर प्रमुख जयसवालले आफ्नो सम्बोधनमा कटहरिया नगरपालिकाको समृद्धि र विकासका लागि नगरवासीहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए।
त्यसतै नगरप्रमुख जैसवालले भने आफू निलम्बनपछि पुनः कार्यभार सम्हाल्दा पहिलो प्राथमिकता नगरका कर्मचारीहरूको तलब र भत्ता वितरण गर्नु रहेको बताए। उनले छिट्टै नै कर्मचारीहरूको तलब भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै, नगरका विकासका कामहरूलाई अब द्रुत गतिमा अघि बढाइने उल्लेख गरे । जैसवालले नगरका अधुरा योजनाहरूलाई पूरा गर्न आफ्नो नेतृत्वमा कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए।
साथै, उनले चाडपर्वले आपसी भाइचारा, एकता, र सद्भावको भावना बलियो बनाउने भएकाले यसलाई सामाजिक एकता र मेलमिलापको रुपमा मनाउन आह्वान पनि गरेका थिए ।वडा अध्यक्ष शमिस विक्रम शाहले पनि कार्यक्रममा सहभागिहरूलाई धन्यवाद व्यक्त गर्दै वडा नम्बर ८ मा भएको विकासका कामहरू र आगामी योजना बारेमा जानकारी गराएका थिए ।
उनले चाडपर्वका समयमा जनप्रतिनिधिहरू र जनताबीच सघन संवाद आवश्यक रहेको बताउँदै यस प्रकारका कार्यक्रमले जनताको विश्वास अझ मजबुत हुने विश्वास व्यक्त गरे ।कार्यक्रममा स्थानीय सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो, जसले उपस्थित सम्पूर्णलाई मनोरञ्जन प्रदान गरेको थियो। कार्यक्रमको समापन सामूहिक भोजको आयोजना गर्दै गरिएको थियो, जसमा नगरवासीहरू र जनप्रतिनिधिहरूबीच घनिष्टता बढाउने अवसर प्राप्त भएको थियो।