रौशन कुमार चौधरी
असोज १५, रौतहट
रौतहटको कटहरीया नगरपालिका वडा नं २ जमुनिया, छेदी चौक टोलका बाढी प्रभावित परिवारहरूलाई राहत वितरण गरिएको छ । लगातार परेको बर्षाका कारण बाढीले यस क्षेत्रमा ठूलो असर गरेको थियो, जसले गर्दा त्यहाँका धेरै किसानका बालीनाली पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । नगर प्रमुख अजय प्रकाश जयसवालले ६१ जना बाढी प्रभावित परिवारहरूलाई राहतस्वरूप १ बोरा चामल, दाल, त्रिपाल लगायतका सामग्री वितरण गरेका छन् ।
राहत वितरण कार्यक्रमको क्रममा उनले पीडित परिवारहरूलाई तत्कालको सहायताका लागि यो पहल गरिएको बताएका छन् । यससँगै उनले किसानहरूको बालीनालीको क्षति सम्बन्धित निकायसम्म पु¥याई उचित क्षतिपूर्तिको व्यवस्था गरिने प्रतिबद्धता पनि जनाएका छन् । यस क्षेत्रमा वर्षाको कारण धेरै किसानको जग्गामा लगाइएको धान, मकै लगायतका बालीनालीमा ठूलो नोक्सान भएको छ। किसानहरू कृषि उत्पादन गुमाएर आर्थिक समस्यामा परेका छन्।
उनले बाढीका कारण क्षतिग्रस्त बालीनाली भएका किसानहरूको क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइसकेको र चाँडै राहतका कार्यक्रमहरु थप प्रभावकारी बनाइने बताएका छन् । यसका साथै, उनले नगरपालिकाले विपद् व्यवस्थापनको योजना अनुसार आगामी दिनमा बाढीप्रभावित क्षेत्रका लागि दीर्घकालीन योजना समेत कार्यान्वयन गर्ने जनाए। स्थानीय जनप्रतिनिधिहरूको समन्वयमा बाढीबाट प्रभावित क्षेत्रको अवस्था निरीक्षण गरी तत्कालीन राहत तथा पुनर्स्थापनाका लागि अन्य थप कार्यक्रमहरू सञ्चालन गर्ने तयारी रहेको जानकारी नगर प्रमुख जयसवालले दिएका छन्।
बाढी प्रभावितहरूले राहत पाएपछि आफ्नो दैनिक जीवनयापनका लागि केही सहजता महसुस भएको बताएका छन्। तर, अझै पनि दीर्घकालीन पुनर्स्थापनाको आवश्यकता रहेको उनीहरूको भनाइ छ। बाढीले जनधनको क्षति भएको हुँदा पुनस्थापना र अन्य सहायता आवश्यक रहेको र यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट थप सहयोगको माग समेत गरिएको छ।