वर्तमानकाल सम्वाददाता
असोज १५, रौतहट
बाढी, डुबान र कटानबाट भएका क्षतिको समिक्षा गर्न जिल्ला विपद व्यवस्थापन समितिद्धारा आयोजित कार्यक्रमबाट १६ बुंदे निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा सम्पन्न भएको उक्त बैठकमा स्थानीय तहका प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृत, सरोकारवाला सम्पूर्ण निकाय, राजनीतिक दल, गैर सरकारी संघसंस्था, संचारकर्मीहरु सहितका उपस्थितिमा तत्कालिन अवस्थालाई मध्य नजर राख्दै १६ बुंदे निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष हिरालाल रेग्मीको अध्यक्षतामा बसेको उक्त बैठकमा अधिकाँश सरोकारवाला निकाय, राजनीतिक दल र संचारकर्मीहरुले मधेश प्रदेशमै सबैभन्दा बढि वितण्डा मचाउने बागमती र लाल बकैया नदि हो जुन रौतहट जिल्लाको लागि अभिसापको रुपमा रहेका छन् । तर दुबै नदिलाई सम्बोधन गरेर बागमती तथा लाल बकैया नदि नियन्त्रण आयोजनाको अफिस परवानीपुर बारा राखेको कारण नै रौतहटमा यतिको क्षति बेहोर्नु पर्न गएको गुनासो वैठकमा पोखियो ।
सबै सरोकारवाला निकायहरुको कुरालाई मनन गर्दै अविरल भारी बर्षाबाट आएका बाढी, डुवान, पहिरोबाट यस जिल्ला बाहेक देशैभरी ज्यानु गुमाउनु परेका नागरिकहरु प्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभ र जनधनको क्षति भएकोमा सहानुभुति प्रकट गर्दै आम जनतामा राहत, पुनस्थापना, र पुनरनिर्माणका लागि धर्यता, सहयोग र समन्वयका लागि अनुरोध गर्ने ।
वागमती तथा लाल बकैया नियन्त्रण आयोजनाको कार्यालय परवानीपुर वारा, पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, डिभिजन सिंचाई कार्यालय, जनताको तट्बन्ध, बागमती सिंचाई आयोजना, खानेपानी तथा सरसफाई कार्यालय, विद्युत प्राधिकरण लगायतका कार्यालयहरुले आफना जिम्मेवारीको क्षेत्रमा भएका क्षतिको यथार्थ विवरण ७ दिन भित्र संकलन गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुका साथै क्षतिग्रस्त भएका संरचनाहरुको निर्माण मर्मत सम्बन्धी आवश्यक कारवाही तत्काल अगाडि बढाउने निर्णय गरिएको प्रमुृख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने ।
कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, भेटनरी अस्पताल तथा पशु विकास केन्द्रले स्थानीय तहहरुबाट संकलन हुने कृषि तथा पशुपंक्षिको विवरणहरुलाई यथार्थपरक बनाउन आवश्यक सहजिकरण गर्नका साथै आफनो तर्फबाट पनि जिल्ला भरीको विवरण संकलन गर्ने लगायतका १६ बुंदे निर्णय भएको उनले जानकारी दिए । सो बैंठकमा गौर नगरप्रमुख शम्भु साह, राजदेवी नगरप्रमुख भिखारी राय यादव, माधवनारायण नगरप्रमुख बैंजु प्रसाद यादव, गढिमाई नगरप्रमुख श्यामप्रसाद यादव, गरुडा नगरप्रमुख कन्थमनि जयसवाल,
कटहरिया नगरप्रमुख अजयप्रकाश, मौलापुर नगरप्रमुख रिनाकुमारी साह, देवाहीगोनाही नगरप्रमुख प्रेमलाल साह, परोहा नगरप्रमुख शेख वकिल, राजपुर नगरप्रमुख डा. राजिक आलम, बौधिमाई नगरप्रमुख प्रदीप यादव सहित उक्त पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थितिको साथै नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ता, वागमती तथा लाल बकैया नदि नियन्त्रण आयोजनाका प्रमुख एकलाख सिद्धिकी, डिभिजन सडक कार्यालयका प्रमुख, पशु विकास कार्यालय प्रमुख, कृषि ज्ञान केन्द्र प्रमुखको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।