रमेश कुमार यादब
असोज १६, रौतहट
बृन्दावन नगरपालिका वार्ड नं.५ नरकटिया भवानीपुरमा रहेको श्री राम जानकी आधारभूत विद्यालयमा पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ। बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले आफ्नो कार्यकाल सुरु भएदेखि नै नगरको सर्वांगीण विकासमा विशेष ध्यान दिएका छन्। उनको नेतृत्वमा शिक्षा, स्वास्थ्य, र शुद्ध खानेपानीका क्षेत्रमा ठूला उपलब्धिहरू हासिल भएका छन्। बुधबार आयोजित कार्यक्रमबाट नगर प्रमुख कुर्मीले बृन्दावन नगरपालिकाको वार्ड नं. ५ नरकटिया भवानीपुर स्थित रहेको श्री राम जानकी आधारभूत विद्यालयका करिब ५ सय भन्दा बढी छात्रछात्राहरुलाई विद्यालयको पोशाक बितरण गर्नु भएका छन् ।
पोशाक बितरण कार्यक्रमको आयोजना वडाध्यक्ष फेकु दासको अध्यक्षतामा गरिएको थियो, भने प्रमुख अतिथि बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मी रहनु भएका थिए । नगर प्रमुख कुर्मीले आफ्नो सम्बोधनका क्रममा नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै, नगरका कुनै पनि विद्यालयका विद्यार्थीहरू पोशाक तथा गुणस्तरीय शिक्षाबाट बञ्चित नहोऊन् भन्ने उद्देश्यका साथ नगरपालिकाले सबै विद्यालयमा एकनासले पोशाक वितरण गर्दै आएको जानकारी गराए।
उनले आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरूलाई पनि विद्यालय जाने प्रेरणा मिलोस् भनी पोशाक वितरणले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे। त्यति मात्र नभएर कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई आवश्यक आधारभूत सुविधाहरू प्रदान गर्नु हो, जसले उनीहरूको शैक्षिक यात्रा सहज बनाउने छ । दुई(दुई सेट विद्यालय पोशाक बितरण गर्दा अभिभावकहरूले नगर प्रमुखको यस कदमको प्रशंसा गरेका छन्, किनकि यसले आर्थिक रूपमा कमजोर परिवारहरूलाई ठूलो राहत पनि प्रदान गरेको छ ।यसबाहेक, नगर प्रमुख कुर्मीले विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तर, र अन्य आधारभूत पूर्वाधारहरूको निरीक्षण गर्दै विद्यालयमा रहेको कमीकमजोरीलाई सुधार गर्न आवश्यक निर्देशन समेत दिएका छन्।
उनले विद्यालय व्यवस्थापनलाई चाँडोभन्दा चाँडो सुधारात्मक कदम चाल्न आग्रह गर्दै, छात्रछात्राहरूको शैक्षिक भविष्य सुनिश्चित गर्न आवश्यक पर्ने सबै प्रयासहरूमा नगरपालिका पूर्ण रूपमा साथ दिने बताएका छन् ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, विद्यार्थीहरू र अभिभावकहरूको उपस्थिति रहेको थियो। साथै, विभिन्न वक्ताहरूले विद्यार्थीहरूको शैक्षिक सुधार, गुणस्तरीय शिक्षा, र विद्यालयमा सरसफाइको महत्त्वबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
वडाध्यक्ष फेकु दासले नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम निरन्तर गरिने बताए ।यो कार्यक्रमले नरकटिया भवानीपुर क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक उपकरणको पहुँच सजिलो बनाउने र उनीहरूको विद्यालय जाने उत्साहलाई बढाउने विश्वास गरिएको छ । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र विद्यार्थी तथा अभिभावकहरूले नगरपालिकाको यो पहलप्रति आभार व्यक्त गर्नुका साथै सराहनिय कार्यको खुलेर प्रशंसा पनि गरेका छन् ।।
स्थानियबासिहरुले भने कि नगर प्रमुख कुर्मीले गरेका यी कार्यहरूको विशेषगरी स्वास्थ्य, शुद्ध खानेपानी, र शिक्षा क्षेत्रमा गरेका योजनाहरूले बृन्दावन नगरपालिकामा ठोस परिवर्तन ल्याइरहेको छ । उक्त कार्यक्रममा बिभिन्न राजनेतिक दलका नेताहरु, प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेल, पुर्व वडाअध्यक्ष सुबोध झा , कार्यपालिका सदस्य राजेश पासवान(निर्माणी) लगायत सयकडौं मानिसहरुको सहभागिता रहेको थियो ।