वर्तमानकाल सम्वाददाता
असोज २१ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति ९ः५० मा एक स्टाटस लेख्दै बाढीले बगाएर अवरुद्ध बनेको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज मर्मत गरी आवतजावत सञ्चालन गरिएको जानकारी दिए । उक्त स्टाटससँगै उनले बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको जानकारी दिँदै पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानलाई धन्यवादसमेत दिए ।
‘बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज मर्मत गरी आवतजावत सञ्चालन गरिएको छ भने बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको छ । पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरुलाई धन्यवाद !,’ उनको स्टाटसमा भनिएको छ । ११ मिनेटपछि फेरि स्टाटस सच्च्याउँदै उनले पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज मर्मत गरी आवतजावत सञ्चालन गरिएकोलाई हटाएर ‘हेवा खोलाको पुल मर्मत गरी आवतजावत सञ्चालन’ गरिएको उल्लेख गरे ।
त्यसको २३ मिनेटपछि फेरि स्टाटस सच्च्याउँदै ‘पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल र बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको’ उल्लेख गरे । त्यसको ५ मिनेटपछि फेरि उक्त स्टाटस पनि सच्च्याउँदै ओलीले लेखे, ‘बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलामा फड्के बिछ्याउने काम र बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको छ । पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरूलाई धन्यवाद ।’
प्रधानमन्त्री ओलीले लेखेको र स्टाटस सच्च्याएको विषयलाई विपक्षीहरूले मसला बनाए । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ओलीको स्टाटसको स्क्रिनसट राख्दै आलोचनाको तीर फेसबुकमै बर्साए, ‘प्रधानमन्त्रीज्यूलाई यसरी कसले गलत सूचना दिन्छ … ? हेवा खोलामा बेलिब्रिज मर्मत गरेर सवारी साधन सञ्चालन गरिएको होइन फट्केमात्र बनेको हो । बेलिब्रिज राख्न त महिनौँ लाग्छ । बगाइसकेको बेलिब्रिजको मर्मत हुने कुरै भएन ।
’उनले अगाडि लेखेका छन्, ‘हेवा खोलामा ह्युम पाइप राखेर भोलिबाट यातायात सञ्चालन हुने अपेक्षा राखिएको छ । प्रधानमन्त्रीलाई गलत सूचना दिनु र गरिमामय ठाउँमा बसेको मान्छेले यसरी गलत सूचना प्रवाह गर्नु दुवै गलत हो ।’ आङ्बोले प्रधानमन्त्री ओलीको स्टाटसप्रति असहमति जाहेर गर्दै स्टाटस लेखेपछि माओवादी समर्थक र ओलीका आलोचकलाई मसला बन्यो । धेरैले ओलीले पहिलो पटक लेखेको स्टाटसको स्क्रिनसट राखेर अहिले पनि आलोचना गरिरहेका छन् ।