वर्तमानकाल सम्वाददाता
असोज २१ गते ।
हमासले इजरायलमा आक्रमण गरेको आज एक वर्ष पूरा भएको छ । गएको वर्षको अक्टोबर ७ मा हमासले इजरायलमा ठूलो आक्रमण गरेको थियो । त्यो आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो हमासले दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । हमासले बन्धक बनाएकामध्ये एक सय जनाभन्दा धेरै रिहा भएका छन् । यस्तै कतिपयको ज्यान गइसकेको छ भने ६४ जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।
प्यालेस्टाइनको विद्रोही समूह हमासको यो आक्रमणले इजरायल मात्र नभई विश्वलाई नै आश्चर्यमा पारेको थियो । यो आक्रमणको बदलमा इजरायलले गाजामा चलाएको अभियानका क्रममा अहिलेसम्म झन्डै ४२ हजार जनाको ज्यान गइसकेको हमासद्वारा सञ्चालित त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हमासलाई समाप्त नपारेसम्म आक्रमण गरिराख्ने इजरायलले जनाएको छ । यस्तै इजरायल र लेबनानको विद्रोही समूह हिजबुल्लाहबीच पनि युद्ध गरिरहेको छ । इजरायली आक्रमणका कारण लेबनानमा दुई हजार जनाभन्दा धेरैको ज्यान गइसकेको छ । इजरायल र इरान समर्थित समूह हिजबुल्लाहले एकअर्काविरुद्ध आक्रमण बढाएपछि मध्यपूर्वमा विपत्ति निम्तिने खतरा बढेको छ । गाजा र लेबनानमा चलिरहेको द्वन्द्वसँगै इरानसँग युद्धको खतरा पनि बढेको छ ।
लेबनानको बेरुतमा हिज्बुल्लाहका नेता हसन नस्रल्लाह र इरानी जनरल अब्बास निलफरहानको मृत्युको बदलामा इरानले अघिल्लो हप्ता इजरायलमाथि दुई सय वटाभन्दा बढी मिसाइल प्रहार गरेको थियो । इजरायलका रक्षामन्त्री योआभ ग्यालेन्टले इरानलाई गाजा वा बेरुतजस्तो अवस्थामा पुर्याउने सक्ने चेतावनी दिनुभएको छ भने इरानले इजरायलको कुनै पनि सम्भावित प्रतिशोधको प्रतिकार गर्ने योजना तयार पारेको बताएको छ ।