बिमलेश कुमार झा
रौतहट,२४ असोज। रौतहटको मौलापुर नगरपालिका वडा नं ५ निवासी बिजेन्द्र प्रसाद यादवको १५ वर्षीय छोरा विशाल यादवमाथि संघातिक हमला भएको छ।
गत बुधबार मौलापुर बजार स्थित दुर्गा पुजा हेर्न आएका यादवमाथि करिब ७:३० बजेको क्रममा केही समुहले खुकुरी प्रहार गरी घाइते बनाएको पीडितको बुबा बिजेन्द्र यादवले बताएका छन्।
हेटौंडामा अध्यनरत यादव दसैंको छुट्टी मनाउन घर आएका थिए`यादवको बुबाले भने´ पुजा हेर्ने क्रममा दुई पक्षबीच झडप हुदा सो झडप छोडाउन खोज्दा छोरामाथि दिनानाथ साहको छोरा लछ्मन साह,मोहन साहको छोरा राजाबाबु साह, भारतको बिहार मोतिहारी जिल्ला स्थित हथियौल निवासी मुकेश भगत मालीको छोरा- रौशन माली लगाएतका समूहहरुले धारिलो हतियार खुकुरी प्रहार गरि हात काटेर गम्भीर घाइते बनाएका छन् ।
यादवले उनीहरुमाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दिएको बताएका छन्। यादवले मौलापुर बजारमा प्राथमिक उपचार पछि हाल बिरगंज स्थित कृष्णा हस्पिटलमा उपचार भइरहेको बताउदै मौलापुर बजारमा प्रहरीको अगाडि घटना हुदा समेत अहिलेसम्म दोसी पक्राउ नपर्नु दुखद रहेको बताएका छन्। अवस्था खतरा मुक्त रहेको छ।
मौलापुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवेश कार्कीले घटनामा संलग्न दुई जनाको व्यान लिएको र मुख्य दुई जनालाई खोजतलास भईरहेको जानकारी गराएका छन्।