वर्तमानकाल सम्वाददाता
कार्तिक ०६ गते ।
गत ६ असोजको साँझ सात बजेतिर जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख शेखर खनाललाई सूचना आयो, ‘प्रहरी प्रभाग, भैंसेपाटीमा प्रहरीकै उपस्थितिबीच पीडित र आरोपीबीच गोप्य लेनदेन गरेर चेक कटाइँदैछ ।’
भैंसेपाटी प्रहरीकी इञ्चार्ज बिनुकुमारी शाहीकै उपस्थितिमा ‘पीडित र पीडक’बीच मिलापत्र हुँदै गरेको सूचना थियो । प्रहरी निरीक्षक इन्स्पेक्टर शाही केहीअघि मात्र लागूऔषध नियन्त्रणमा राम्रो काम गरेको भन्दै ललितपुर प्रहरीबाट पुरस्कृत भएकी थिइन् । त्यसैले अधिकृतहरुले सुरुमा यो सूचनाको गम्भीरता नजरअन्दाज गरे ।एसएसपी खनालले शाहीलाई फोन गरेर पीडित र पीडक दुवै पक्षलाई लिएर जावलाखेलस्थित प्रहरी परिसरमा आउन निर्देशन दिए । ललितपुर प्रहरीले आरोपी ताज मुल इस्लाम, १९ वर्षीय किशोरी सुष्मा विक लगायतलाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो ।
जग्गा व्यवसायीसमेत रहेका पीडितलाई पनि छुट्टै राखेर बयान लिन थालियो । त्यसक्रममा कोशी प्रदेशमा भएको घटनामा प्रहरी प्रभाग, भैंसेपाटीले अनावश्यक चासो राख्दै छलफल गराएको भेटिएको ललितपुर प्रहरीका एक अनुसन्धान अधिकृत बताउँछन् ।
ललितपुर प्रहरी स्रोतका अनुसार, ती जग्गा व्यवसायी किशोरीसँग पूर्वका विभिन्न स्थानमा घुम्न गएका थिए । प्रहरीका अनुसार, त्यसक्रममा उनीहरुबीच ‘केही लेनदेन’ समेत भएको थियो । पछि युवती, ताज इस्लाम, दर्शन पोखरेल लगायत पूर्वबाट ललितपुरको भैंसेपाटी आएर घटनाबारे प्रहरीलाई बताएको खुलेको छ ।
‘इन्स्पेक्टर शाहीलाई भेटेपछि भैंसेपाटी प्रहरीले ती व्यवसायीलाई बोलाएको देखिन्छ, त्यसक्रममा उनलाई केही घन्टा हिरासतमा समेत राखेको भेटिएको छ’, ललितपुर प्रहरी स्रोत भन्छ, ‘त्यतिन्जेल मौखिक सूचनाबाहेक अरु कुनै किसिमको उजुरी भैंसेपाटी प्रहरीसँग थिएन ।’
प्रहरी स्रोतका अनुसार, त्यसपछि इन्स्पेक्टर शाहीले आफ्नै युनिटको प्रहरीलाई प्रयोग गरेर ठाडो निवेदन लेख्न लगाएको भेटिएको छ । त्यसपछि लेनदेन भएको खुल्ने बयान दुवै पक्षबाट आएपछि ललितपुर प्रहरीले यो विषयमा छानबिन गर्न समिति समेत बनाएको थियो ।
ललितपुर प्रहरीका डीएसपी नरहरि अधिकारी नेतृत्वको छानबिन समितिले जाँचपछि यस मामिलामा इन्स्पेक्टर शाहीको अनावश्यक सक्रियता देखिएको भन्दै अनुसन्धान गर्नुपर्ने भनेको छ ।
अधिकारी नेतृत्वको समितिमा इन्स्पेक्टर दिपेन्द्र श्रेष्ठ, वरिष्ठ सई लोकेन्द्र पण्डितसहितका अधिकारीहरु सदस्य छन् । ललितपुर प्रहरीका अनुसार, समितिको सिफारिस र जिल्ला सरकारी वकिलको कार्यालयले समेत सिफारिस गरेपछि अहिले इन्स्पेक्टर शाहीलाई पनि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा इस्लामहरुसँगै प्रतिवादी बनाइएको छ ।
प्रहरीले जिल्ला अदालत, ललितपुरबाट पक्राउ अनुमति लिएर फरार शाहीको खोजी गरिरहेको छ ।
क्षेत्राधिकार बाहिरको घटनामा शंकास्पद केरकार
प्रहरी प्रभाग, भैंसेपाटीमा प्रहरी सहायक निरीक्षक ९सई० को दरबन्दी छ । तर, मन्त्री क्वार्टरसमेत पर्ने इलाका भएकाले काजमा प्रहरी निरीक्षक खटाइँदै आएको छ ।
भैंसेपाटी प्रहरीकै लागि भनेर छुट्टै बजेट विनियोजन हुँदैन, त्यहाँबाट मुद्दा चल्दैन । त्यसैले त्यहाँ हुने गम्भीर प्रकृतिका घटनाका उजुरी कि सातदोबाटो पुग्छन् कि जावलाखेल ।
तर, भैंसेपाटीकी इन्स्पेक्टर शाहीले आफ्नो त के ललितपुर प्रहरीकै क्षेत्रमा नपर्ने घटनामा ठाडो निवेदनका भरमा ‘आरोपीलाई सोधपुछका लागि बोलाएको’ भेटिएको छ । ललितपुर प्रहरीका अनुसार, सुनसरीमा भएको भनिएको घटनाका पीडित आफूकहाँ आएको भए पनि उनले त्यहाँ मुद्दा नचल्ने भनेर फर्काइदिनु पर्थ्यो ।
सामान्यतः कुनै अपराधको घटनास्थल जहाँ हो, त्यहीँको स्थानीय प्रहरी युनिटले अनुसन्धान गर्छ । ‘पीडित पनि भैंसेपाटीका होइनन्, आरोपी पनि उनको क्षेत्रमा बस्ने होइन’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘यस्तोमा उनले आफूले निवेदन लिनु, आरोपीलाई बोलाउनु नै सही देखिँदैन ।’
मोरङका व्यवसायी भए पनि ती व्यक्ति इमाडोलमा पनि बस्दै आएका थिए । ‘यस्तोमा बरु विषय गम्भीर लागेको भए जिल्ला प्रहरी परिसर, ललितपुरमा खबर गर्न सकिन्थ्यो वा महिला सेलतिर पठाइदिन सकिन्थ्यो’, ती अधिकृतले भने, ‘तर, उनले माथिल्लो निकायलाई पनि जानकारी नगराइ लेनदन गराउनुले बदनियत देखाउँछ ।’
छानिबन समितिका सदस्यहरुका अनुसार, भैंसेपाटीमा शाहीकै उपस्थितिका बीच इस्लामको समूह र ती व्यवसायीबीच बार्गेनिङ भएको भेटिएको छ । पक्राउ परेका इस्लाम र व्यवसायी दुवैले ललितपुर प्रहरीसँग ६० लाख रुपैयाँबाट बार्गेनिङ सुरु भएको बताएका छन् ।
‘५० लाखबाट सुरु भएको बार्गेनिङ ३० लाखमा टुंगिएको बयानमा खुलेको छ’, प्रहरी स्रोतले भन्यो, ‘सहमतिपछि ७ लाख रुपैयाँ व्यवसायीले तुरुन्तै इस्लामले भनेअनुसार भीमादेवी बुढाथोकी नामको खातामा हालिदिएको खुलेको छ ।’
बाँकी रहेको २३ लाख रुपैयाँमध्ये १३ लाख रुपैयाँ अर्को दिन बैंकमा गएर फेरि बुढाथोकीकै नाममा बैंकमा जम्मा गर्न लगाएको पाइएको प्रहरी अधिकृतहरुको भनाइ छ ।
ललितपुर प्रहरीका अनुसार, इटहरीबाट पक्राउ गरेर ल्याउँदा बुढाथोकीले आफ्नो एटिएम, चेक लगायत इस्लामले नै चलाउने गरेको बयान दिएकी छन् ।
इन्स्पेक्टर शाहीका सवारी चालक सहायक हवल्दार महेन्द्र हमाल पनि बैंकमा पैसा जम्मा गर्न जाँदा व्यवसायीसँगै बैंक पुगेको खुलेको छ । यसपछि ललितपुर प्रहरीले हमाललाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।