रमेश कुमार यादब
कार्तिक ०७, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकामा मिटर ब्याज पीडितहरुको बृहत आम सभा भव्य रूपमा सम्पन्न भएको छ। “सम्पूर्ण वित्तीय पीडित एक हौं, वित्तीय शोषण तथा उत्पीडन विरुद्ध संघर्ष गरौं“ भन्ने मुल नाराका साथ आयोजित सभामा मिटरब्याज र सुदखोरहरूको विरोधमा आवाज उठाइएको थियो । यो कार्यक्रम श्री राम सुगर मिल्सको प्राङ्गणमा सम्पन्न भएको हो, जुन गरुडाको धरोहरको रूपमा चिनिन्छ । उक्त आम सभाको आयोजना “शोषण विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मधेश प्रदेश समिति“ र “मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल भोजपुरा कमाण्ड“ को संयोजनमा भएको थियो ।
सभामा स्थानीय किसान, मजदुर र वित्तीय शोषणका पीडितहरूले ठूलो संख्यामा सहभागिता जनाएका थिए । सहभागिहरुले विभिन्न नाराहरू लगाउँदै गरुडा नगरको परिक्रमा गरेका थिए । परिक्रमा पश्चात् सभाको समापन श्री राम सुगर मिल्सको प्राङ्गणमा भएको थियो, जहाँ सहभागीहरूले मिटर ब्याजबाट पीडितहरूको समस्याहरूलाई उजागर गर्दै तत्काल न्यायको माग गरेका थिए ।
कार्यक्रममा उपस्थित नेताहरुले वित्तीय शोषण र सुदखोरीको समस्याको चिरफार गर्दै मिटर ब्याजको अत्याचार र सुदखोरहरूको अन्याय विरुद्ध संगठित भएर लड्नुपर्ने आवश्यक्ता औंल्याएका थिए । उनीहरूले राज्यले मिटर ब्याज पीडितहरूको न्यायको लागि ठोस कदम चाल्नुपर्ने, सुदखोरीको अन्त्य गर्न कडा कानूनी व्यवस्था लागू गर्नुपर्ने माग पनि अघि सारेका थिए ।
आम सभामा उपस्थितहरूले आफ्नो अनुभव बाँड्दै, मिटर ब्याजका कारण गरिब किसान र मजदुरहरू कसरि वित्तीय शोषणमा परेका छन् भन्नेबारे चर्चा गरेका थिए । उनीहरूले सरकारलाई तत्काल कारबाहीको लागि दवाव दिने योजना बनाएका छन्, साथै स्थानीय र राष्टिूय तहमा आन्दोलनलाई अझ सशक्त बनाउने घोषणा समेत गरेका छन् ।
यस आम सभाले स्थानीय समुदायमा वित्तीय शोषण विरुद्धको चेतनाको विकास गरेको छ र यो मुद्दालाई
राष्टिूय तहमा पुर्याउने प्रयासलाई बल पुर्याएको छ ।