कृष्ण तिवारी
कार्तिक ७ गते, रौतहट
रौतहटको फतुवा विजयपुर नगरपालिकाले बिजुलीका साथै पानी र मालपोत कर समेत निःशुल्क गरेको छ।
सर्वसाधारण नागरिकको घरायसी र कृषि मीटरको सम्पूर्ण रकम निःशुल्क गरेको फतुवा विजयपुर नगरपालिकाले अब पानी र मालपोतको कर समेत निःशुल्क गरेको हो ।रौतहटको फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनको सक्रियतामा नगरक्षेत्रमा निःशुल्क बिजुली पानीसँगै मालपोत शुल्क पनि नलाग्ने फ्री गरिएको छ। साथै नगरपालिका भवन निर्माणका लागि बजेट बिनियोजन भएको र छिटोभन्दा छिटो जग्गा ब्यवस्थापन गरि निर्माण गरिने बताइन् ।
अब फतुवा विजयपुर नपामा बसोबास गर्ने नागरिकले बिजुलीका साथ साथै पानी र मालपोतको करको रकम तिर्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन् ।
पहिलादेखि नै नगरका सम्पूर्ण जनताको बिजुलीको सम्पूर्ण रकम पालिकाले नै तिर्दै आएको छ तर अब खानेपानी र मालपोतको रकम समेत फतुवा विजयपुर नगरपालीकाले नै तिर्ने नीति ल्याएको प्रमुख प्रशासकिय अधिकृत प्रमोद गुप्ताले बताए।
पालीकाले फ्री बिजुली, फ्री पानी गरेपछि सर्वसाधारण नागरिकले ठूलो राहत पाउने प्रशासकिय अधिकृत गुप्ताले बताए ।
जग्गाको मालपोतको रसीद कटाउदा पहिला सर्वसाधारण नागरिकलाई शुल्क तिर्नुपर्ने बाध्यता थियो तर मालपोतको रसिदको रकम अब पालिकाले नै तिरिदिने भएपछि सर्वसाधारण नागरिकलाई सहज भएको उनले बताए।
त्यस्तै आम नागरिकले उपभोग गर्ने खानेपानीको सम्पूर्ण रकम अब नगरपालिकाले नै तिरिदिने भएपछि सर्वसाधारण नागरिक निकै खुसी भएका छन्।