रौशन कुमार चौधरी
कार्तिक ०९, रौतहट
रौतहटको कटहरिया नगरपालिका वडा नं ९ मा अवस्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्डस्ट्रीज प्रा.लि.मा हालै क्रसिङ सिजिनका लागी ब्वायलर पूजा विधिवत् रूपमा सम्पन्न भएको छ । यो पूजा मिल सञ्चालनको औपचारिक सुरुवातको संकेत मानिन्छ । मिलका सञ्चालक बैजु प्रसाद बाबराले जानकारी दिए अनुसार किसानहरूलाई सबै बक्यौता रकम भुक्तानी गरिएको छ भने सरकारबाट अनुदान रकम पनि प्राप्त भएको छ ।
यस्तै व्यवस्थापनमा रहेका प्रबन्ध निर्देशक अभय प्रसाद बाबराले यो वर्षको कात्तिक महिनाको अन्तिमसम्ममा डोङ्गा पूजाको योजना बनाइएको र त्यसपछि मिल सञ्चालनमा आउने बताए । यो चिनिमिलबाट रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी र चितवनका किसानहरूले आफ्नो उखु पठाउने व्यवस्था मिलाइएको छ । किसानहरूलाई समयमै भुक्तानी उपलब्ध गराउँदा उनीहरू उखु खेतीमा पुनः आकर्षित भइरहेको र यसले किसानहरूको उत्साह बढाएको अभय बाबराले जनाएका छन् ।
कार्तिक उखु र खुटी उखु उत्पादन गर्ने किसानहरूले यस महिनाको अन्त्यसम्ममा मिल सञ्चालनको लाभ उठाउन सक्नेछन् । त्यति मात्र नभएर यो सिजनमा मिल्स सञ्चालन गर्दा किसानहरूलाई दोहोरो फाइदा पुग्नेछ – एकातिर समयमा नै उखुको भुक्तानी प्राप्त हुनेछ भने अर्कोतर्फ उखु खेतीको प्रोत्साहन पनि बढ्नेछ ।
रौतहट जिल्लाको गरुडामा श्री राम सुगर मिल्स लामो समयदेखि बन्द रहेको भए पनि अहिले उक्त क्षेत्रका किसानहरू आफ्नो उत्पादन बाबा बैजुनाथ चिनिमिलमा पठाउँदै आएका छन् । पाँच जिल्लाका किसानहरूलाई उखुको उत्पादनका लागि प्रोत्साहन प्रदान गर्नुका साथै यस मिलले किसानहरूको आर्थिक स्थितिमा सुधार ल्याउनमा योगदान पुर्याउने आशा गरिएको छ ।
समयमै भुक्तानी र अनुदानको व्यवस्था मिलाउँदा किसानहरू यस वर्ष उत्साहित देखिएका छन् । सरकार र मिल प्रशासनको सहकार्यले किसानहरूलाई राम्रो बजार प्राप्त हुने र उखु खेतीलाई आर्थिक रूपमा लाभदायक बनाउन योगदान पुग्ने आशा गरिएको छ । यस पालिदेखि फेरी उखु खेति तर्फ किसान लाभान्वीत हुँदा उखु खेति बढने देखिन्छ ।
किनभने मिल्सले किसानहरूको भुक्तानी र उत्पादनको मूल्य सुनिश्चित गर्न ध्यान दिएको हुँदा स्थानीय किसानहरू खुसी छन् र यस क्षेत्रमा उखु उत्पादनमा वृद्धि हुने सम्भावना छ ।