रौतहट,१० कार्तिक। आउँदै गरेको दीपावली, छठ लगाएतको चाडपर्वको मौका छोपी हुनसक्ने अखाद्य वस्तु बिक्री, कालाबजारी र महंगीलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रौतहट सहितको संयुक्त टोलीले यतिखेर बजार अनुगमन गर्ने कार्यलाई तीब्रता दिइरहेको छ।
यसै क्रममा जिल्ला प्रशासन कार्यालय रौतहट, घरेलु तथा साना उद्योगको कार्यालय, उद्योग वाणिज्य संघ रौतहट, वाणिज्य उपभोक्ता संरक्षण मञ्च वीरगन्ज, इलाका प्रहरी कार्यालय गरुडा र इलाका प्रशासन कार्यालय गरुडाको संयुक्त टोलीले आज गरुडामा बजार अनुगमन गर्न जाँदा व्यापारीहरुको भागाभाग भएको छ।
अनुगमन टोली पुग्ने बितिकै कारवाहीमा पर्ने डरले गरुडाका व्यापारीहरु धमाधम सटर बन्द गरेर भागेका थिए। टोलीले बिना बिलको सामान बेच्ने एक किराना पसल र एक राइस मिलका सञ्चालकलाई पाँच हजारको दरले जरिवाना गरेपछि म्याद गुज्रेका सामान बिक्री गर्ने, कालाबजारी गर्ने, कृत्रिम अभाव देखाई चर्को मूल्यमा सामान बिक्री गरी उपभोक्तालाई ठगी गर्ने, मापदण्ड विपरित र बिना दर्ताको पसल सञ्चालन गर्ने व्यापारीहरु धमाधम सटर बन्द गरी भागेको अनुगमनमा सहभागी जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी राम नरेश राय यादवले जानकारी दिएका छन्।
कालाबजारी, महंगी, ठगी, दूषित र मिसावट भएका खाद्यपदार्थको विक्री नियन्त्रणका लागि आफूहरु रौतहटको विभिन्न बजारहरुमा संयुक्त अनुगमन गरिरहेको तथा गलत काम गर्नेलाई कारवाही गर्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी यादवले बताए।
खास गरी खानयोग्य वस्तुको जाँच, तौल र मूल्यदेखि लिएर कालोबजारी गर्ने गरी कृत्रिम सङ्कट सिर्जना गर्ने अवस्थाको अनुगमन गर्ने गरिएको उनले बताए।
दैनिक उपभोग्य वस्तुहरू अनुगमनमा प्राथमिकतामा पर्ने गरेका छन्। चाडपर्वका बेला बजारमा दूषित र मिसावटयुक्त खाद्यवस्तु विक्री हुनसक्ने भन्दै सरकारी अधिकारी र अधिकारकर्मीले उपभोक्तालाई त्यस्ता वस्तु किन्दा सचेत हुन आग्रह समेत गरेका छन्।