रौतहट,१० कार्तिक। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले रौतहटको माधवनारायण नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसंग माग गरेका छन्।
गएको असोज १२ गते बागमती नदीमा आएको भीषण बाढीले माधवनारायण नगरपालिका समेत प्रभावित भएको भन्दै सांसद तिमल्सिनाले सरकारले माधवनारायण नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अति जरूरी रहेको बताए । बाढीले प्रभावित माधवनारायण नगरपालिकाको विभिन्न वडामा आज अनुगमन निरीक्षण गर्दै रौतहट निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद तिमल्सिनाले सो कुरा बताएका हुन्।
सांसद तिमल्सिनाले बाढीले गढीमाई नगरपालिकाको धर्मपुर स्थित कटान गरेको तटबन्ध र सो बाँध फुटेका कारण प्रभावित भएका माधवनारायण नगरपालिकाको वडा नं ६,७,८ र ९ को विभिन्न स्थानमा आज बिहान अनुगमन निरीक्षण गरेका छन् । अनुगमन निरीक्षणको क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद तिमल्सिनाले बाढीले माधव नारायण नगरपालिकाको चार वटा वडा पूर्ण रूपमा प्रभावित भएपनि सरकारले माधव नारायणलाई विपद् संकटग्रस्त क्षेत्रको सूचीमा समावेश नगरेको भन्दै आपत्ति जनाए ।
सो क्रममा उनले आफूले माधवनारायणलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्री रमेश लेखकलाई आग्रह गरेको र गृह मन्त्री लेखकले सकारात्मक जवाफ दिएको सुनाए । गृह मन्त्री लेखकले माधवनारायणलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा गर्ने आश्वासन दिएको भन्दै उनले सरकारले माधव नारायणलाई संकटग्रस्त क्षेत्र घोषणा गर्नेमा पूर्ण रूपमा आशाबादी रहन पीडितहरुलाई विश्वास दिलाएका हुन् ।
बाढीले माधवनारायणका नागरिक निकै पीडित बनेको र उनीहरू राहतको पर्खाइमा रहेकोले जसरी भएपनि माधव नारायणलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी पीडित परिवारहरूलाई राहत उपलब्ध गराउन आफू सरकार समक्ष प्रयास गर्ने उनले प्रतिवद्धता जनाए। गढीमाई नगरपालिका र माधवनारायण नगरपालिकाको सिमानामा पर्ने गढीमाईको धर्मपुर स्थित बागमती नदीको बाँध लगभग ३० मीटर लामो फुटेका कारण बागमती नदीको बाढी बस्तीमा प्रवेश गर्दा माधवनारायण नगरपालिकाको माधोपुर, खड्कि रज्वाडा, लौकाहा फुलवरिया र गढो पूर्ण रूपमा प्रभावित बनेको उनले बताए ।
बाढीले माधवनारायणको यी चार वटा वडामा बसोबास गर्ने हजारौं नागरिकको घरमा क्षति पुर्याएको छ भने हजारौं हजार बिघामा लगाइएको धान, उखु र तरकारी बाली पूर्ण रूपमा नष्ट भई करोडौंको क्षति हुँदा पनि सरकारले माधव नारायणलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा नगर्नु दुःखद भएको उनले बताए।
आफूले अनुगमन निरीक्षण गर्दा बाढीले रजवडामा कयौ परिवारको घर नै बगाइदीएको छ भने कतिपयको घर पूर्ण रूपमा ध्वस्त हुँदा पीडित परिवारहरू अरूको घरमा आश्रय लिएर बसिरहेको भेटेको उनले बताए । बाढीले कयौको हजारौं बिघा पोखरीको माछा बगाइदिएको र धान बाली पूर्ण रूपमा नष्ट हुँदा किसानहरू निकै चिन्तित भएको उनले बताए।
त्यस कारण सरकारले जति छिटो माधवनारायणलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी बाढी पीडितलाई राहत र विस्थापित परिवारहरूलाई घर निर्माण गर्ने तर्फ लाग्नुपर्ने उनले बताए। माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले सरकारले आफूहरुको पालिकालाइ बाढी संकटग्रस्त क्षेत्र घोषणा नगरी चरम विभेद गरेको भन्दै सांसद तिमल्सिनालाई सुनाएपछि तिमल्सिना आज शुक्रवार बिहानै भत्केको बाँध र प्रभावित बस्तीमा अनुगमन निरीक्षण गर्न पुगेका थिए।
सो क्रममा माधव नारायण नगरपलिकाका इन्जिनियर नागेन्द्र यादव, वडा नं ८ का वडा अध्यक्ष योगेन्द्र कुशवाहा लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो।