रमेश कुमार यादब
कार्तिक १२, रौतहट
कानुनी समाज केन्द्रद्वारा आयोजित शुभकामना आदानप्रदान तथा कानूनी सचेतना कार्यक्रम गरुडामा भव्य रूपमा सम्पन्न भएको छ। कानूनी समाज केन्द्रद्वारा आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता कानूनी समाज केन्द्रका केन्द्रिय अध्यक्ष सुरज बाबु पटेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा युवा नेता रविन्द्र यादवको उपस्थिति रहेको थियो । कार्यक्रममा नमूना मावि, गरुडाका प्रधानाध्यापक प्रभु पटेल तथा मावि, महम्मदपुरका प्रधानाध्यापक राम नारायण यादवद्धय विशेष अतिथि रहनु भएको थियो ।
“कानूनको अज्ञानता क्षम्य हुँदैन“ भन्ने सिद्धान्तलाई आत्मसात गर्दै तथा “हामी सबैको आवाज, कानून सचेत समाज“ भन्ने मुख्य नाराका साथ आयोजित यो कार्यक्रमले समाजमा कानूनी चेतनाको महत्त्वलाई व्यापक रूपमा फैलाउन महत्वपूर्ण योगदान गरेको छ ।प्रमुख अतिथि रविन्द्र यादवले कार्यक्रमलाई सम्बोधन गर्दै दशैं तथा दिपावलीको शुभकामना दिँदै छठको महापर्वको अवसरमा समाजमा शान्ति, सुरक्षा र आपराधिक क्रियाकलापको न्यूनि करणमा जोड दिनुपर्ने आवश्यकता रहेको बताउनु भएको थियो ।
उहाँले कानूनी सचेतनाले समाजलाई असल नागरिक उत्पादनमा मद्दत पुर्याउने र युवाहरूलाई कानूनी ज्ञानबाट सजग गराउने विश्वास व्यक्त गर्नुभयो । साथमा अहिले समाजमा बढ्दो आपराधिक क्रियाकलापहरूलाई न्यूनिकरण गर्दै समाजको असल
नागरिक निर्माणमा जोड दिनुपर्ने कुरामा जोड दिनु भएको थियो । यादवले कानूनी शिक्षाको अभावले गर्दा समाजमा बढ्दो आपराधिक गतिविधिहरूलाई न्यून गर्न सकिने र यसतर्फ समाजलाई सचेत गराउन यस कार्यक्रमको महत्त्व रहेको बताउनुभयो।
विशेष अतिथि राम नारायण यादवले कानूनी सचेतनाको महत्वलाई जोड दिंदै भने, “समाजमा कानूनी ज्ञानको अभावका कारण धेरैले विभिन्न आपराधिक कार्यमा फस्न पुग्छन् । यस्तो सचेतना कार्यक्रमले समाजका हरेक वर्गलाई कानूनी रूपले जागरुक बनाउने प्रयास गर्नुपर्छ ।” उहाँले यस प्रकारका कार्यक्रमहरू गाउँ(गाउँमा पुग्नुपर्ने आवश्यकता पनि औँल्याउनु भएको थियो ।
यस अवसरमा कानूनी समाज केन्द्रका सदस्यहरूले समाजलाई सही मार्गमा डोर्याउन, कानूनको जानकारी जनसाधारणसम्म पुर्याउन र आपराधिक गतिविधिहरू रोक्न यस प्रकारका कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । सो कार्यक्रमका सभापति सुरज बाबु पटेलले कानूनी समाज केन्द्रले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई
निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले कानूनको ज्ञानबाट मात्र समाजको समुचित विकास हुन सक्ने र आपराधिक क्रियाकलापलाई न्यूनिकरण गर्न सकिने विश्वास व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, कानूनी समाज केन्द्रका सदस्यहरू, विद्यालयका शिक्षकगण, विद्यार्थीहरू र स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उपस्थितहरूले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा यस्ता क्रियाकलापहरूमा सहभागीता जनाउन इच्छा प्रकट गरेका थिए । यो कार्यक्रमले स्थानीय स्तरमा कानूनी ज्ञान र चेतनाको विकास गर्दै समाजलाई सही बाटोतर्फ अग्रसर गराउने महत्त्वपूर्ण सन्देश प्रवाह गरेको छ ।