वर्तमानकाल सम्वाददाता
कार्तिक १२ गते ।
बारा जिल्लाको सुवर्ण गाउँपालिका स्थित श्री ने.रा प्रा.वि. बगहि चरमोहनामा हिन्दूहरुको महान पर्व तिहार, दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सहित नवनिर्मित विद्यालय भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रम सुवर्ण गाउँपालिका, कवहिगोठका अध्यक्ष राजेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य तथा माननीय राधेश्याम यादव रहनुभएको थियो भने बिशिष्ट अतिथिको रूपमा गाउँपालिका उपाध्यक्ष पुनम कुमारी यादवको उपस्थिति रहेको थियो । समारोहमा गाउँपालिकाको नि.प्रमुख प्रशासकिय अधिकृत सुजित यादब, १ देखि ८ सम्मका वडअध्यक्ष उपस्थित लगायत अन्य स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक(शिक्षिका, विद्यार्थी, अभिभावक, तथा गाउँका सम्मानित व्यक्तिहरुले पनि कार्यक्रमलाई उल्लासमय बनाएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि माननीय राधेश्याम यादवले शुभकामना आदानप्रदान गर्दै विद्यालय भवन उद्घाटनको महत्वपूर्ण अवसरमा विद्यार्थीहरुको शैक्षिक प्रगति र सुविधा बढ्ने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो कि नयाँ भवनले पढाइमा आवश्यक सहजता ल्याउनुका साथै, विद्यार्थीकै शिक्षा स्तरलाई उकास्नमा मद्दत पुर्याउनेछ । उहाँले आगामी दिनमा पनि विद्यालयको स्तर सुधार र शैक्षिक गुणस्तरलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।
बिशिष्ट अतिथि पुनम कुमारी यादवले पनि शुभकामना मन्तव्य दिँदै विद्यालयको भवनले विद्यार्थी, शिक्षक, र अभिभावकलाई सकारात्मक ऊर्जा प्रदान गर्ने र समग्र शिक्षा प्रणालीलाई प्रभावकारी बनाउने बताउनुभयो । उहाँले गाउँपालिकाको सहयोगमा यस्ता परियोजनाहरूलाई अझ अघि बढाउँदै जाने आश्वासन दिनु भएको थियो ।
विद्यालयका प्रधानाध्यापकले नवनिर्मित भवन निर्माणका लागि सबै सहयोगदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको विकास र विद्यार्थीको शिक्षामा सुधारका लागि आवश्यक पहलहरू गर्ने बताउनुभयो। समारोहमा स्थानीय सांस्कृतिक प्रस्तुतिहरू, विद्यार्थीहरुको नृत्य तथा गायन, र स्थानीय संगीतले पनि सबैलाई मनोरञ्जन दिएको थियो । कार्यक्रमको समापनमा उपस्थित सबैले मिठाई बाँड्दै एक–आपसमा शुभकामना आदानप्रदान गरेका थिए