वर्तमानकाल सम्वाददाता
कार्तिक १२ गते ।
’साउथ सुपरस्टार’ थलापति विजय राजनीतिमा प्रवेश गरेका छन् । उनले अरु कसैको दलमा नगई आफैंले नयाँ पार्टी घोषणा गरेका हुन् । त्यति मात्र होइन, विजयको दल ’तमिलगा वेत्री कझगम’(टीभीके) ले आइतबार तमिलनाडुको विल्लुपुरम जिल्लाको विक्रवन्डीमा ’विशाल’ आमसभासमेत आयोजना गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार आमसभामा विजयको भाषण सुन्न हजारौं पुगेका थिए ।
भाषणका क्रममा उनले राज्य र केन्द्र सरकारमा रहेका दलहरूविरुद्ध निसानासमेत साधेँ । तमिलनाडु सरकारमा रहेको डीएमके र केन्द्र सरकारमा रहेको भाजपाले विभाजनको राजनीति गरिरहेको उनले बताए । सत्ताधारी डीएमकेप्रति लक्षित गर्दै उनले भने, ’उनीहरू अन्डरग्राउन्ड डिल गर्छन् । अल्पसंख्यकहरूलाई धोका दिनका लागि फासिवादको आरोप लगाउँछन् ।
द्रविड मोडलका नाममा तपाईंहरूलाई धोका दिइरहेका छन् ।’ त्यस्तै भाजपाप्रति इंगित गर्दै विजयले भने, ’घृणाको
राजनीति गर्नेहरू हाम्रा सत्रु हुन् । विभाजनकारी राजनीति र घृणा हाम्रा सत्रु हुन् ।… म राजनीतिक शिष्टाचार र
राजनीतिक शालीनलता कायम राख्नेछु । यो भिड पैसाका लागि होइन, एउटा उद्देश्यकका लागि हो ।’ उनले आफू
राजनीतिमा जगेडका रूपमा नआएको समेत बताए । तमिलनाडुको प्रमुख शक्ति बन्ने प्रणसमेत उनले गरेका छन् ।
’पहिला मलाई लाग्थ्यो राजनीति किन गर्नुप¥यो र ? तर के आफ्नै बारेमा सोच्नु स्वार्थ हैन र ?,’ उनले भाषणका क्रममा भने ।
उनले सन् २०२६ मा हुने तमिलनाडु विधानसभा चुनावमा राज्यका २३४ सिटमै आफ्नो दलले उम्मेदवार उठाउनेसमेत बताए । विजयले यसै वर्षको फेब्रुअरीमा तमिलनाडु र पुडुचेरीमा काम गर्नका लागि राजनीतिक दल स्थापना गरेका थिए ।
भारतीय निर्वाचन आयोगले भने टीभीकेलाई गत सेप्टेम्बरमा आधिकारिक रूपमा दलको मान्यता दिएको थियो । दलको मान्यता पाएपछि विजयले आइतबार जनसभा आयोजना गरेका हुन् । विजयले आफ्नो दलको विचारधारा धर्मनिरपेक्ष र सामाजिक न्यायमा आधारित भएको समेत बताएका छन् । यसअघि पनि दक्षिण भारतमा थुप्रै कलाकारहरू राजनीतिमा आइसकेका छन् ।
तीमध्ये केही सफल भएका छन् भने केही असफल । पवन कल्याण, चिरन्जीवी, एमजी रामचन्द्रन, विजयकान्त, एनटी रामा राव, कमल हसनजस्ता कलाकार राजनीतिमा आइसकेका छन् । चिरन्जीवीका भाइसमेत रहेका पवन कल्याणले सन् २०१४ मा ’जन सेना’ पार्टी बनाएका थिए । यसै वर्षको आन्ध्र प्रदेश विधानसभा चुनावमा उक्त दलले २१ सिट जित्यो । त्यस्तै लोकसभा चुनावमा २ सिट जितेको उक्त दलले भाजपासँग चुनावी गठबन्धन गरेको थियो । पवन अहिले आन्ध्रका उपमुख्यमन्त्री छन् ।