पवन कुमार उपाध्याय
रौतहट,१४ कार्तिक। रौतहटको व्यापारी नगरी भनेर चिन्ने गरुडा बाजारमा हिजो धनतेरसको दिनमा पनि बजारमा उत्साह देखिएन।
चाडपर्वमा व्यापार व्यावसायमा सुधार होला भनेर पर्खाईमा बसेका गरुडाका व्यापारीहरु गरुडा बाजारमा धनतेरसको दिनमा पनि ग्राहकको भीड नहुँदा निराश देखिएका थिए । हिजो (मंगलबार) धनतेरस मनाईएको छ । धनतेरसमा गरुडाको सुन पसल र भाडा पसलहरुमा पहिले ग्राहकहरुको भीड देखिएपनि हिजो भने खासै ग्राहकहरु देखिएनन् ।
गरुडा बाजारमा सामान महंगो हुने भन्दै अधिकांश नेपालीहरु सीमावर्ती भातरीय सहर बैरगनियामा गएर सामान खरिद गरेर ल्याएका कारण गरुडाको व्यापार खस्किएको व्यावसायीहरु बताउछन् ।गरुडामा व्यापार राम्रो होला भनेर आशामा बसेका गरुडाका व्यापारीहरुमा ग्राहकको संख्या न्यून हुँदा निराश देखिएका थिए ।
पहिलेको धनतेरसका दिनमा बेलुकी नौ दश बजेसम्म ग्राहकहरुको भीड हुने गरेकोमा यसपटक सुन पसल, भाडाकुडाको पसल लगायत कुनैपनि पसलहरुमा ग्राहकको भीड देखिएको थिएन । बजारमा कुचो, फलफूल र दियो बत्ती लिनेहरुको सामान्य भीड देखिएपनि अन्य सामान खरिद गर्नेहरुको संख्या भने देखिएन । सुनको मूल्य आकाशीएकोले सुन किन्ने ग्राहकहरु कम देखिएको व्यावसायीहरुले बताएका छन् ।
पहिले सुन किन्ने ग्राहकहरुले सस्तो गहनाहरु मात्रै खरिद गरेका सुनको भाऊ दैनि जसो बढेकाले पनि ग्राहकले सुन कम खरिद गरेको रौतहट सुनचाँदी व्यावसायी संघका अध्यक्ष अरुण सोनीले बताए । धनतेरसको दिन विद्युतीय सामग्री टिभी, फ्रिज, टिभी लगायतका सामान किन्नेहरुको पनि पसलहरुमा भीड देखिएको थिएन ।
त्यस्तै सवारी साधान खरिद गर्नेहरुको पनि संख्या कम देखिएको थियो । गरुडामा रहेको मोटरसाईकल शो रुमहरुमा ग्राहकहरु खासै नआएको बिक्रेताहरुले बताएका छन् ।