सेटिङ्गमा बन्छ सवारी चालक अनुमति पत्र गौरमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक १५, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
सेटिङ्गमा बन्छ सवारी चालक अनुमति पत्र गौरमा

रौतहट,१५ कार्तिक। सवारी साधन चालक अनुमति पत्रको लागि यातायात व्यवस्था कार्यालय गौरको ट्रायल स्थलमा मङ्गलबार पुगेका २० जना भन्दा बढी परीक्षार्थी परीक्षा दिन बाट वञ्चित भएका छन् । यातायात कार्यालयले सर्भर समस्या भएको भन्दै गलत सूचना दिएको कारण परीक्षा दिनबाट आफूहरू वञ्चित भएको परीक्षार्थीहरूले आरोप लगाएका छन् ।

यातायात कार्यालयले परीक्षा मिति कार्तिक १३ भन्दै सूचना जारी गरेको थियो । तर, कार्यालयले अघिल्लो दिन नै परीक्षण लिएको हुँदा सूचना अनुसार आउने परीक्षार्थीहरूलाई परीक्षा दिनबाट वञ्चित गराइएको हो ।

परीक्षार्थीहरूले ड्राइभिङ सेन्टर र कार्यालयका कर्मचारीसँग सेटिङ् नभएका परीक्षार्थीहरूलाई नियोजित रूपमा वञ्चित गरिएको आरोप लागेको छ ।

परीक्षामा अनियमितता रहेको दाबी गर्दै परीक्षार्थीहरूले स्थानीय सन्ध्या मोटर ड्राइभिङ सेन्टरमा अनिवार्य रूपमा पाँच सय रुपैयाँ बुझाएपछि मात्र उनीहरूलाई अल्टो वा मारुती गाडीमा परीक्षा दिन दिइने व्यवस्था रहेको बताए ।

परीक्षामा सहभागी हुन जिल्लाभरि र बाहिरबाट आउने परीक्षार्थीहरूका अनुसार, कर्मचारी र ट्राफिक प्रहरीसँगको मिलेमतोमा ठूलो मात्रामा आर्थिक लेनदेनको चलखेल हुँदै आएको छ । मोटरसाइकल वा स्कुटीको अनुमति पत्रका लागि १० देखि १५ हजार र कार तथा जीपका लागि ३० हजारसम्मको रकम असुल गरिने गरेको जानकारी प्राप्त भएको छ ।

सर्वसाधारणलाई ट्रायल स्थलमा जान प्रतिबन्ध लगाइएको छ, जसका कारण परीक्षा प्रक्रियाको पारदर्शिता माथि पनि प्रश्न उठेको छ । केही परीक्षार्थीले भने सर्भर क्र्यास भएको भन्दै अनुमति पत्रको सूचना दिनुअघि नै सेटिङ्ग गरिएका परीक्षार्थीलाई जानकारी दिइएको र अरूलाई रोकिएको बताए ।

यातायात व्यवस्था कार्यालय गौरका प्रमुख जीतेन्द्र गुप्तासँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । यो प्रकरणले गौरमा सवारी चालक अनुमति पत्र प्रणालीमा देखिएको सम्भावित गडबडी र आर्थिक अनियमितताप्रति आमजनताको चासो र असन्तोष बढाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस