रमेश कुमार यादब
कार्तिक १८ गते ।
रौतहट जिल्लाको गरुडा नगरपालिकामा जनमत पार्टीले शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । यो कार्यक्रम गरुडा नगरपालिकाको वार्ड नं. ४, गरुडामा रहेको पार्टी कार्यालयमा आयोजित भएको हो । गरुडा नगरपालिका व्यापारिक
नगरीको रूपमा चिनिन्छ र यो कार्यक्रमले स्थानीय स्तरमा जनमत पार्टीको लोकप्रियतालाई थप उचाइमा पुर्याएको छ । कार्यक्रमको अध्यक्षता गरुडा नगरपालिकाको वार्ड नं. ७ भिमडावरका वडा प्रत्याशी तथा जनमत पार्टीका युवा नेता
रामलाल यादवले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश सरकारका माननीय मुख्यमन्त्री सतिश कुमार सिंह रहनु भएका थिए । उपस्थित अन्य अतिथिहरूमा जनमत पार्टीका विभिन्न नेतागण, स्थानीय कार्यकर्ता, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, तथा विभिन्न संघ(संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थिए । मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्नो सम्बोधनमा रौतहट जिल्लाका जनताका लागि विभिन्न योजना ल्याउने वाचा गर्नु भएको थियो ।
उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक, आर्थिक र सडक पूर्वाधारका क्षेत्रमा आफ्नो सरकार प्रतिबद्ध रहेको बताउनु भयो । विशेष गरी शिक्षा क्षेत्रमा रौतहट जिल्ला पछि परेको उल्लेख गर्दै उहाँले यसलाई सुधार्नका लागि सबै प्रयास गर्न आफू तत्पर रहेको बताउनुभयो ।
शिक्षामा देखिएका चुनौतीहरूको समाधानका लागि आफू कटिबद्ध रहेको र शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार पूर्ण रूपमा तयार रहेको बताए । उनले भने, “रौतहट जिल्लामा शिक्षा क्षेत्र निकै पछाडि परेको छ । यसको सुधारका लागि प्रदेश सरकारले विभिन्न योजना र कार्यक्रमहरू सञ्चालन गर्दैछ ।“ साथै, उनले गरुडा नगरवासी र सम्पूर्ण रौतहट बासिका लागि स्वास्थ्य, सडक पूर्वाधार, र रोजगारी जस्ता आधारभूत सेवामा समेत विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
मुख्यमन्त्री सिंहले रौतहट जिल्लाको विकासका लागि मधेश प्रदेश सरकारले ठूला योजनाहरू अघि सार्ने र जनताको जीवनस्तर उकास्न विशेष पहल गरिने उल्लेख गर्नुभयो । कार्यक्रममा जनमत पार्टीका अन्य नेताहरूले पनि शुभकामना मन्तव्य राख्दै स्थानीय जनतालाई पार्टीसँग एकजुट भएर विकास निर्माणमा सहभागी हुन आग्रह गरे ।
उनीहरूले गरुडा नगरपालिकाको विकासमा जनमत पार्टीले प्राथमिकता दिने र जनतालाई सहज सेवासुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । शुभकामना आदानप्रदान कार्यक्रमले स्थानीय बासिन्दामा उत्साह थपेको छ भने जनमत पार्टीप्रति विश्वास बढाएको छ। कार्यक्रमको अन्त्यमा जनप्रतिनिधिहरू, कार्यकर्ता र स्थानीय जनताबीच आपसी चिनजान र सहकार्यका लागि संवाद पनि भएको थियो, जसले स्थानीय स्तरमा राजनीतिक वातावरणलाई थप सकारात्मक बनाएको छ।