वर्तमानकाल सम्वाददाता
कार्तिक २५ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक रविसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीबी राईसँग मिलेर रकम हिनामिना गरेको आरोपमा पक्राउ लिला पछाईंलाई १३ दिनको म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा र जीबी राईसँग मिलेर अपचलन गरेको
आरोपमा उनीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब अपचलन भएको छ । जसमा गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको भन्दै रविसहित छविलाल, जीबी राई, कुमार रम्तेललाई कारबाही गर्न संसदीय छानबिन विशेष समितिले सिफारिस गरेको थियो । रवि, छविमाथि अहिले अनुसन्धान भइरहेको छ भने कुरा पुर्पक्षका लागि कास्की कारागारमै छन् । जीबी भने अहिलेसम्म फरार छन् ।
सहकारी ठगी प्रकरणमा ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष देवकुमार नेपालीलाई पनि कास्की झिकाएर आइतबारै बयान लिइएको छ ।