रौतहटको बिर्तामा लागु औषध दुब्यर्सन बिरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक २७, मंगलबार (१ साल अघि)
  • ४ पटक पढिएको
रौतहटको बिर्तामा लागु औषध दुब्यर्सन बिरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन

पवन कुमार उपाध्याय
कार्तिक २७, रौतहट

गरुडा नगरपालिका वार्ड नं ९, विर्ता बजारमा लागू औषध दुर्व्यसन बिरुद्ध जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । सामाजिक अभियन्ता शैलेन्द्र यादवको नेतृत्वमा भएको यस जनचेतना अभियानको प्रमुख उद्देश्य समुदायमा लागू औषधको दुष्प्रभाव, यसले पार्ने दीर्घकालीन असर, र यस समस्याको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्नु रहेको थियो । कार्यक्रममा प्रहरी, विभिन्न संस्थाका प्रतिनिधिहरू, समाजका अगुवा, युवाहरू, महिला, बालबालिकालगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रमुख आकर्षणको रूपमा लागू औषध सम्बन्धी सन्देश प्रवाह गर्न सडक नाटक प्रस्तुत गरिएको थियो । नाटकले लागू औषधको प्रभावबाट एक व्यक्तिले कसरी आफ्नो जीवन बर्बाद गर्छ, परिवार र समाजमा यसको नकारात्मक असर के हुन्छ भन्ने कुरालाई भावनात्मक ढंगले प्रस्तुत गर्यो । सडक नाटक मार्फत विशेषगरी युवाहरूलाई लागू औषधको घातक असर र यसले समाजमा ल्याउन सक्ने विकृतिहरूको बारेमा सचेत गराईएको थियो। कार्यक्रममा सहभागीहरूले उक्त नाटकबाट धेरै कुरा सिकेका अनुभव सुनाए ।

सामाजिक अभियन्ता शैलेन्द्र यादवले कार्यक्रममा सहभागी सबैलाई सम्बोधन गर्दै भने, “लागू औषधको समस्यालाई रोक्न हामी सबैको सक्रिय सहभागिता अपरिहार्य छ । यो केवल व्यक्तिगत समस्या होइन, सम्पूर्ण समाजलाई असर पुर्याउने गम्भीर मुद्दा हो । हामी सबैले हातेमालो गरेर यो चुनौतीको सामना गर्नुपर्छ।“ उनले लागू औषध बिरोधी अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए र यस प्रकारका कार्यक्रमहरू मार्फत समाजलाई सचेत गराउन सकेमा सकारात्मक परिवर्तन सम्भव हुने बताए ।

कार्यक्रममा सहभागी गरुडा ईलाका प्रहरी कार्यलयका ईन्सपेक्टर ओमप्रकाश यादबले यस किसिमका जनचेतनामूलक कार्यक्रमहरूको महत्त्वबारे आफ्नो धारणा व्यक्त गर्दै आगामी दिनहरूमा अझै बढी यस प्रकारका कार्यक्रम आयोजना गर्नुपर्ने सुझाब दिए । तिनले जनचेतनाको अभावले गर्दा धेरै मानिसहरू लागू औषधको दुष्चक्रमा फस्ने गरेका कारण यस किसिमका कार्यक्रमले सचेतना बढाउन मद्दत गर्ने धारणा राखेका थिए ।

सडक नाटक र जनचेतना कार्यक्रमको प्रभावकारिताले गर्दा यस क्षेत्रमा लागू औषध बिरोधी अभियानमा नयाँ उर्जा थपिएको छ भने सहभागिताले समाजमा लागू औषधको समस्याबारे स्पष्ट सन्देश प्रवाह गर्न सफल भएको छ । कार्यक्रममा अन्य वक्ता र उपस्थित नागरिकहरूले यस किसिमका कार्यक्रमको महत्त्वलाई स्वागत गर्दै आगामी दिनमा यस प्रकारका कार्यक्रम अझ बढाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस