रौशन कुमार चौधरी
कार्तिक २९, रौतहट । रौतहटको कटहरिया नगरपालिका र संरक्षण नेपाल बीच पोषण लेखाजोखा तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत महत्वपूर्ण द्विपक्षीय सम्झौता भएको छ ।
नगर प्रमुख अजय प्रकाश जैसवालको सक्रिय पहलमा सम्पन्न उक्त सम्झौतामा नगर उप प्रमुख रिता देवी यादव तथा संरक्षण नेपालकी कर्मचारी पुनम यादवको उपस्थिति रहेको थियो । सम्झौता समारोह कटहरिया नगरपालिकाको कार्यालयमा सम्पन्न भएको थियो, जसमा नगरका विभिन्न विकास योजनासँगै स्वास्थ्य र पोषण सुधारका विषयमा छलफल समेत भएको थियो ।यस समझदारी अनुसार कटहरिया नगरपालिकाका सम्पूर्ण वडामा रहेका ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको पोषण अवस्थाको लेखाजोखा गरिने छ ।
विशेषगरी कुपोषित बालबालिकाहरुलाई पहिचान गरी उनीहरूलाई उपयुक्त उपचारमा ल्याई पोषणको कमीबाट बचाउन र उनीहरूको स्वास्थ्य अवस्था सुधार गर्न सहयोग पु¥याउने उद्देश्य संरक्षण नेपालले राखेको छ । संरक्षण नेपालका कर्मचारी पुनम यादवले बताए अनुसार यो कार्यक्रमले कुपोषण निवारणका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।यस कार्यक्रम अन्तर्गत कुपोषणमा रहेका बालबालिकाहरूलाई संरक्षण नेपालले विशेष कार्ड उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । यस कार्डको माध्यमबाट बालबालिकाका अभिभावकहरूलाई सम्बन्धित पसलहरूमा कृषि उपकरण तथा विभिन्न पोषणयुक्त खाद्यान्न सामग्रीमा विशेष छुट प्राप्त हुनेछ ।
नगर प्रमुख जैसवालका अनुसार, यस छुट व्यवस्थाले नगरवासीहरूलाई आर्थिक सहयोग दिने मात्र नभई स्वास्थ्यप्रति सचेत गराउने काम समेत गर्नेछ ।त्यसैगरी, गर्भवती महिलाहरूका लागि पनि विशेष पोषणयुक्त खाद्यान्न सामग्री प्रदान गर्ने योजना अघि बढाइएको छ । यस कार्यक्रमले गर्भवती महिलाहरूको स्वास्थ्यमा सुधार ल्याई सन्तानको पोषण स्थिति समेत सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यसले गर्दा गर्भावस्थामा उनीहरूको स्वास्थ्य सुदृढ बनाउन र सन्तानलाई कुपोषणबाट बचाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
नगर प्रमुख जैसवालले नगरवासीहरूको पोषण तथा स्वास्थ्यमा ध्यान केन्द्रित गर्दै यस्ता कार्यक्रमको निरन्तरता दिनुपर्ने बताए । यस्ता कार्यक्रमले नगरबासिमा दीर्घकालीन लाभ पुग्ने प्रयास गरेको नगर प्रमुख जैसवालले बताए । नगर प्रमुखको यो कदमले स्थानीय नागरिकहरूमा सकारात्मक प्रभाव पारेको छ र जनताले उनलाई सहयोगी तथा जनताप्रति उत्तरदायी नेता भनेर सम्मान व्यक्त गरेका छन् ।
यस कार्यक्रमले नगरवासीहरूमा स्वस्थ जीवनयापनको सुनिश्चितता र आत्मनिर्भरता पनि प्रदान गर्नेछ । नगरपालिकाले गरेको यो सहयोगले सम्पूर्ण नगरपालिकाभरिका कुपोषित बालबालिका र गर्भवती महिलाहरूको पोषण स्थितिमा सुधार ल्याउन महत्वपूर्ण योगदान गर्ने नगरबासिले विश्वास गरिएको छ ।