वर्तमानकाल सम्वाददाता
मंसिर ०१ गते ।
मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकारले ४ महिना पूरा गरे पनि कामकाज सुस्त भएकाले सत्तारुढ दलका नेताहरु असन्तुष्ट बनेका छन् । मुख्यमन्त्री सतीशकुमार सिंह कै दल जनमत पार्टीका सभासदहरु बढी आक्रोशित देखिएका छन् । ४ महिना बितिसक्दा पनि सरकारले गति लिन नसक्दा जनतामा चरम असन्तुष्टि देखिएको नेताहरुको ठहर छ । जनमत पार्टीको आह्वानमा सत्तारुढ गठबन्धन दलका नेताहरुको बिहीबार बसेको बैठकमा सरकारले कामकाज गर्न नसकेको भन्दै आलोचना गरिएको छ ।
जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवको अध्यक्षतामा बसेको सो बैठकमा सरकारले हालसम्म काम नै गर्न नसकेको नेताहरुले निष्कर्ष निकालेका छन् । उनीहरुले विकासको बजेट खर्च हालसम्म ५ प्रतिशत समेत हुन सकेको छैन । मुख्यमन्त्री भाषण बाहेक अन्य कुनै काममा चासो नदेखाएको दलका नेताहरुको आरोप छ । जनताले अनुभूति गर्ने र दीर्घकालीन असर हुने कार्यक्रमहरुलाई उपेक्षा गरिएको नेताहरुले स्वीकारेका छन् ।
‘सरकारको कामकारबाही सुस्त हुनुको कारण पहिल्याउन मुख्यमन्त्री सिंहसहित सबै मन्त्रीहरुलाई राखेर छलफल गरिने सहमति भएको छ’ जनमत पार्टी दलका नेता यादवले भने, कुनै एकजनालाई दोष दिनुभन्दा सुस्त रहेको कारण पत्ता लगाइनेछ । नेता यादवले सरकार सुस्त भएको, बजेट खर्च गर्न नसकेको, काम प्रभावकारी नभएर जनतामा निराशै निराशा, गुनासै गुनासा रहेको विषय उठेको बताए ।
‘काम गर्न नसकेकाले जनतामा सरकारप्रति निकै निराशा, गुनासा , विगतको सरकार भन्दा पनि खतम छन् भन्ने टिप्पणी हुन थालेको छ ’ उनले भने, नेतृत्वकर्ता दलको हैसियतले बदनामी हुन थालेपछि जनमत संसदीय दलको आह्वानमै गठबन्धनको बैठक बसेको हो ।’ संसदीय दलको बैठक जनमत पार्टी संसदीय दलको कार्यालयमा बसेको थियो ।
बैठकमा एमाले दलका नेता समेत रहेका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव, नेपाली कांग्रेस दलका नेता एवं पूर्वमन्त्री कृष्णा यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दलका उपनेता उपेन्द्र महतोको सहभागिता रहेको थियो । सरकारले कामकाज अगाडि बढाउन नसकेको सबै नेताहरुको स्वीकारोक्ति रहेको लोसपा नेपालका उपनेता महतोले बताए ।
‘सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीपनि सन्तुष्ट छैन’ उनले भने, बिहीबार दलका नेताहरुको बैठक जनमत पार्टीको अग्रसरतामा भएको थियो । बैठकमा मुख्यमन्त्री सहित सबै मन्त्रीलाई राखेर गठबन्धनका अन्य दलको कार्यालयमा बस्ने सहमति भएको उनले बताए । ‘आगामी बैठकहरुमा मुख्यमन्त्रीको अनिवार्य उपस्थिति गराइने छ’ महतोले भने, सत्तागठबन्धनको सबै विषय मुख्यमन्त्रीसित नै सम्बद्ध रहेकाले उनको अनिवार्य उपस्थिति गराइने सहमति भएको छ । मुख्यमन्त्री सिंह अचानक काठमाण्डु गएकाले बैठकमा ठोस निर्णय हुन सकेन ।