रमेश कुमार यादब
मंसिर ०१, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ५ महम्मदपुर स्थित श्री माध्यमिक विद्यालयमा “लागु औषध हटाऔं, युवा शक्ति बचाऔं“ भन्ने नारा सहित लागू औषध दुब्र्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जनकामना फाउन्डेसनको आयोजनामा तथा समाजिक अभियन्ता शैलेन्द्र प्रसाद यादवको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाभित्र लागू औषध दुब्र्यसनका समस्या समाधान गर्न सामूहिक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
यस कार्यक्रमका प्रमुख अतिथी गरुडा नगरपालिकाका मेयर पदका प्रत्याशी बृज किशोर यादव रहनु भएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बृज किशोर यादवले लागू औषध दुर्व्यसनको कारणले समाजमा परेको नकारात्मक असर र यसले युवापुस्तामा पु¥याएको क्षतिको गहिरो समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले लागू औषधको कुलतबाट बच्न शिक्षाको महत्त्व, अभिभावकहरूको भूमिकाको आवश्यकता र सामूहिक प्रयासको महत्त्वलाई जोड दिनु भएको थियो । साथै, उहाँले गरुडा नगरपालिकाले आगामी दिनमा लागू औषध दुर्व्यसनविरुद्ध थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
इलाका प्रहरी कार्यालय गरुडाका इन्सपेक्टर ओम प्रकाश यादवले युवाहरूमा बढ्दो लागू औषध दुर्व्यसनको जोखिमप्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले प्रहरीले लागू औषध दुर्व्यसनविरुद्धको अभियानलाई सशक्त बनाउँदै आएका र आगामी दिनमा समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । शिवनगर प्रहरी चौकीका इन्चार्ज बी.के. झाले पनि समुदायमा रहेको लागू औषधको समस्याको समाधानका लागि अभिभावक, शिक्षक, र समुदायका सबै तहले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले लागू औषध दुर्व्यसनले समाजमा पारेको असर र त्यस विरुद्धको लडाइँबारे एउटा प्रभावकारी नाटक प्रस्तुत गरेका थिए ।
यो प्रस्तुति उपस्थित सबैका लागि निकै प्रभावकारी र शिक्षाप्रद बन्न सफल भएको थियो । नाटकले दुब्र्यसनका कारण हुने पारिवारिक विघटन, स्वास्थ्य समस्या, र समाजमा उत्पन्न नकारात्मक परिणामहरूलाई चित्रण गरेको थियो । नाटकले उपस्थित दर्शकहरूको मन छोएको र उनीहरूलाई यस समस्याको गम्भीरताबारे सोच्न प्रेरित गरेको थियो । श्री माध्यमिक विद्यालयका प्रधानाध्यापकले यो कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको र विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
कार्यक्रममा शिक्षक, विद्यार्थी र स्थानीय अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। जनकामना फाउन्डेसनका प्रतिनिधिहरूले यस कार्यक्रमले स्थानीयस्तरमा लागू औषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने र युवाहरूलाई कुलतबाट जोगाउने महत्त्वपूर्ण सन्देश दिन सफल भएको बताए । कार्यक्रमको अन्त्यमा सहभागी सबैले लागू औषध दुर्व्यसनविरुद्ध एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
लागू औषध दुर्व्यसनका कारणले बिनाश हुनबाट युवा शक्ति जोगाउन गरिएको यो अभियानले गरुडा नगरपालिकामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । कार्यक्रमको समापनमा संयोजक शैलेन्द्र प्रसाद यादवले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै समाजलाई दुब्र्यसनमुक्त बनाउने अभियानमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।