रमेश कुमार यादब
मंसिर ०२, रौतहट
कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवाल गढीमाई मन्दिरमा आयोजित पञ्चवर्षीय गढीमाई मेला संरक्षण समितिको संयोजकमा निर्विरोध चयन भएका छन् । गढीमाई मेला ऐतिहासिक र धार्मिक महत्व बोकेको पवित्र मेला हो, जुन प्रत्येक पाँच वर्षमा आयोजना हुने गर्दछ। यस मेलालाई व्यवस्थित बनाउने र यसको संरक्षणका लागि समिति गठन गरिएको हो। नगर प्रमुख जैसवालले कटहरिया नगरपालिका र छिमेकी गरूडा नगरपालिकाका विभिन्न वडाहरूबाट प्रतिनिधित्व हुने गरी समिति निर्माण गर्ने बताएका छन् ।
समितिमा प्रत्येक वडाबाट सदस्य चयन गरिनेछ, जसलाई सोमबार बिहान ८ बजे पूर्णता दिने योजना रहेको छ । नगर प्रमुख जैसवालले गढीमाई मेलालाई यसपटक भव्य र ऐतिहासिक बनाउनका लागि विशेष योजनाहरू अघि बढाएको बताए । मेलाको सफल व्यवस्थापनका लागि नगरपालिकाले विशेष बजेट विनियोजन गर्ने र आवश्यक स्रोतसाधन जुटाउने उनले प्रतिबद्धता जनाएका छन् ।
आईतबार बिहान बैठकमा जनप्रतिनिधि र स्थानियहरूको बाक्लो उपस्थिति रहेको थियो । कटहरिया वडा नं. ६ को दुधियाभार स्थित गढीमाई मन्दिरमा आयोजित बैठकमा नगर प्रमुखसँगै विभिन्न वडाका अध्यक्ष र स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
बैठकमा कटहरिया वडा नं. ६ का अध्यक्ष जयराम चौधरी, वडा नं. ७ का अध्यक्ष शहिद मिया धोबी, वडा नं. ४ का अध्यक्ष चंदन कुशवाह, गरूडा नगरपालिका क्षेत्रका समाजसेवीहरू जस्तै गरुडाका मेयर प्रत्याशि बृजकिशोर यादव, गरुडा नगरपालिकाको वार्ड नं.५ का रामबिनोद जैसवाल, शम्भु कान्त यादव, हरेन्द्र यादव, बाल्मिकी यादव, अंजित कुश्वाहा, रामभरोस यादब, लगायत सयौं स्थानियहरूको सहभागिता रहेको थियो ।
गढीमाई मेला नेपालको तराई क्षेत्रको एक महत्वपूर्ण धार्मिक मेला हो जुन एक,दुई बर्षमा नभएर एकै चोटी पाँच बर्षमा लाग्ने गर्दछ । यस मेलामा देशभरका साथै भारतका विभिन्न भागहरूबाट पनि श्रद्धालुहरूको ठूलो संख्यामा उपस्थिति रहन्छ । गढीमाईको पूजा र बलिदान परम्पराका साथै मेलाको सांस्कृतिक गतिविधिहरूले यसलाई विशेष महत्व दिलाएको छ । समितिले मेलाको आयोजनालाई व्यवस्थित र सुरक्षित बनाउने विशेष रणनीति बनाउँदैछ ।
मेलास्थलमा सफाइ व्यवस्था, सुरक्षा मापदण्ड, श्रद्धालुहरूका लागि आवास तथा खानपानका सुविधा, यातायात व्यवस्थापन, र धार्मिक अनुष्ठानहरूलाई सहज बनाउने प्रयास गरिनेछ । स्थानीयहरूले पनि मेलालाई यसपालि भव्य रूपले आयोजना गर्न सघाउने वाचा गरेका छन् । मेलाको आयोजना र व्यवस्थापनले न केवल धार्मिक महत्वलाई प्रवर्द्धन गर्नेछ, तर यसले स्थानीय पर्यटन र अर्थतन्त्रलाई पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।