रमेश कुमार यादब
मंसिर १५, रौतहट
रौतहटको गरुडा नगरपालिका वडा नम्बर २ गडहीगुठीस्थित लमहा खोलामा नुहाउने क्रममा दुई युवकको डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो गेडहीगुठी गाउँमा रहेको लमहा खोलामा नुहाउने क्रममा खाल्डोमा फसेर १७ वर्षीय जितेन्द्र साह र १८ वर्षीय राजीव साहको ज्यान गएको हो । जितेन्द्र साह सोही ठाउँका देवालाल साहका छोरा हुन् भने राजीव साह उमेश साहका छोरा हुन् ।
दुई युवक डुबेको खबर प्राप्त हुनेबित्तिकै इलाका प्रहरी कार्यालय गरुडा, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प दुधियाभार र स्थानीय बासिन्दाहरुले खोजीकार्य सुरु गरेका थिए । करिब एक घण्टापछि दुवै युवकलाई अचेत अवस्थामा खोलाबाट बाहिर निकालिएको थियो ।
उनीहरूलाई तत्काल उपचारका लागि गरुडा अस्पताल पुर्याइएको भए पनि चिकित्सकले दुबैलाई मृत घोषणा गरेका छन् । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिँदै, उक्त क्षेत्रका खोलामा नुहाउँदा सावधानी अपनाउन आग्रह गरेको छ । स्थानीयका अनुसार लमहा खोलाको उक्त स्थानमा पानीको सतह देखिनेभन्दा गहिरो खाल्डो छ, जसका कारण नुहाउन गएका व्यक्तिहरू खतरामा पर्ने सम्भावना बढी रहेको छ ।
घटनापछि दुबै युवकका परिवारमा शोक छाएको छ । गाउँमा पनि स्तब्धता छाएको छ । स्थानीयले लमहा खोलाको खतरनाक क्षेत्र पहिचान गरी सुरक्षाका उपाय अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । यता दुवै युवकका परिवारजनले यो घटना अत्यन्त दुःखद भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले घटना बारे अनुसन्धान जारी रहेको जनाएको छ । यस घटनाले खोलामा नुहाउँदा सतर्कता अपनाउनु पर्ने आवश्यकता र खतराजन्य स्थानमा चेतावनी संकेत राख्ने व्यवस्थाको जरुरतलाई थप उजागर गरेको छ ।