रमेश कुमार यादब
मंसिर १६, रौतहट
रौतहटको राजपुर नगरपालिका वडा नं. ६ मा सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदका उम्मेदवार समसे आलमले २९६ मतको अन्तरले विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार समसे आलमले कुल ७५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार जिकरुलाह मियाँले ४६३ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भए । त्यसतै तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार मोहम्मद असिम अख्तरले ४३१ मत ल्याएका छन् ।
अन्य उम्मेदवारले तुलनात्मक रूपमा थोरै मत ल्याएका छन् । यस उपनिर्वाचनमा कुल २ हजार ५ सय ४६ मतदाता रहेकोमा १ हजार ७ सय ६६ जनाले मतदान गरेका थिए । यो मतदान प्रतिशत ६९.३६% रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।। मतगणनाको क्रममा सुरुवातदेखि नै काँग्रेसका उम्मेदवार अग्रता कायम गर्न सफल भएका थिए ।
उपनिर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेसँगै राजपुर नगरपालिकाको राजनीतिक समीकरणमा नयाँ प्रभाव देखिएको छ । स्थानीय राजनीतिक विश्लेषकहरूले यसलाई नेपाली कांग्रेसको प्रभाव विस्तारका रूपमा व्याख्या गरेका छन् ।यो जितले समसे आलमलाई राजपुर वडा नं. ६ का जनताको माग र विकासका विषयमा काम गर्न थप जिम्मेवारीको दायित्व दिएको छ ।
निर्वाचन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणना पनि निष्पक्ष रूपमा भएको स्थानीय प्रशासनले जनाएको छ । अहिले रौतहटकै गढिमाई नगरपालिकाको वार्ड नं.८ बिरनगरा स्थित रहेको मा.वि बिधालयमा मत गणनाको क्रम जारी रहे पनि उक्त वार्डमा सुर्यले अग्रता लिएको हो ।