रमेश कुमार यादब
मंसिर १८, रौतहट
कटहरिया नगरपालिका, रौतहटका नगर प्रमुख अजय प्रकाश जैसवालले समाजसेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै नगरका दुई जना क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । कटहरिया नगरपालिकाको वार्ड नं. ९, डुमरिया निवासी रामबाबु साह कलवार र उनका छोरा शिवजी प्रसाद कलवार दुवै क्यान्सर रोगबाट ग्रसित भई चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) अस्पतालमा उपचाररत छन् ।
पीडित परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर र दयनीय रहेको जानकारी पाएपछि नगर प्रमुख जैसवालले दुबै व्यक्तिलाई प्रतिव्यक्ति रु. ४७ हजार ( का दरले आर्थिक सहयोग प्रदान गरेका हुन् । सहयोग रकमको चेक सोमबार नगर प्रमुखले पीडितका भाई राम अधार साह कलवारलाई हस्तान्तरण गरेका हुन्।
यस अघि, नगर प्रमुख जैसवाल स्वयं चितवन पुगेर पीडितको अवस्था बुझ्न अस्पतालमै गएका थिए । पीडित परिवारको कठिन परिस्थितिमा सहयोग गर्न सकिने उपाय खोज्दै उनले नगरपालिका तर्फबाट राहत स्वरूप आर्थिक सहयोग उपलब्ध गराएका हुन् । नगर प्रमुख जैसवालले भने, “नगरभित्र रहेका गरिब, पीडित, असहाय र दुःखी व्यक्तिहरुलाई सहयोग गर्न म जहिले पनि तयार छु। मेरो प्राथमिकता हरेक नागरिकको पीडामा मल्हम लगाउनु हो।“
उनले आगामी दिनमा पनि नगरका गरिब तथा पीडितहरूको जीवनस्तर उकास्न विभिन्न योजनाहरू अघि बढाउने प्रतिबद्धता जनाएका छन्। पीडित परिवारले सहयोगप्रति आभार व्यक्त गर्दै यो सहयोगले उनीहरूलाई उपचार प्रक्रियामा ठूलो राहत मिलेको बताएका छन् । नगरपालिकाबाट पाइएको सहयोगले अन्य पीडितहरूलाई पनि प्रेरणा मिल्ने विश्वास स्थानीयवासीले व्यक्त
गरेका छन्। यस घटनाले कटहरिया नगरपालिकाका जनप्रतिनिधिहरू जनताको दुःखसुखमा सदैव साथ रहन्छन् भन्ने सन्देश दिएको छ।