रमेश कुमार यादब
मंसिर १८, रौतहट
गरुडा नगरपालिकामा नेपाल बिमा प्राधिकरणको आयोजनामा एक दिवसीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सोमबार सम्पन्न भएको छ । गरुडा नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल प्रमुख अतिथि
रहनुभएको थियो । कार्यक्रममा नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रमुख प्रीति देव सहित नगरका विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय नेताहरू, व्यवसायी, र अन्य सरोकारवालाहरूको उपस्थिति थियो ।
नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले कार्यक्रममा सम्बोधन गर्दै बिमाको महत्वबारे चर्चा गरेका थिए । उहाँले भने, “बिमा एउटा यस्तो औजार हो जसले जोखिम हस्तान्तरण गरेर आर्थिक सुरक्षाको प्रत्याभूति दिन्छ । हरेक व्यक्तिले बिमालाई आफ्नो जीवन र व्यवसायको अभिन्न अंग बनाउनुपर्छ ।” साथै, उहाँले गरुडा नगरपालिकाका सबै वडामा बिमा सेवा पु¥याउन नीतिगत योजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएका थिए ।
नगर प्रमुख जैसवालले बिमा कम्पनीहरूले बिमितलाई दाबी भुक्तानी दिने क्रममा झन्झटिलो प्रक्रिया अपनाउने, नक्कली कागजातको आधारमा भुक्तानी गर्ने जस्ता गुनासाहरू प्राधिकरणले सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिए । उनले भने, “बिमा क्षेत्रप्रति जनताको विश्वास कायम राख्न प्राधिकरणले प्रभावकारी नियमन र अनुगमन गर्नुपर्छ ।” त्यसतै सोहि कार्यक्रममा नेपाल बिमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख प्रीति देवले बिमाको महत्व, यसको फाइदा, र बिमाका विभिन्न प्रकारबारे जानकारी गराइन् । उनले भनिन्, “बिमा व्यक्तिको मात्र नभई समुदाय र व्यवसायका लागि पनि आवश्यक छ ।
यसले जोखिमबाट बचाउने मात्र होइन, आकस्मिक परिस्थितिमा आर्थिक राहत पनि प्रदान गर्छ ।”उनले कार्यक्रममा सहभागीहरूलाई जीवन बिमा, स्वास्थ्य बिमा, सम्पत्ति बिमा, कृषि बिमा, र अन्य बिमाका प्रकारबारे विस्तृत जानकारी दिइन् ।
साथै, बिमा गर्दा ध्यान दिनुपर्ने मुख्य पक्षहरू, दाबी भुक्तानी प्रक्रिया, र बिमा कम्पनीहरूको भूमिकाबारे व्याख्या गरेकी थिईन । कार्यक्रमको अन्त्यतिर उपस्थित सरोकारवालाहरूले बिमा क्षेत्रसँग सम्बन्धित आफ्ना गुनासाहरू र सुझावहरू राखेका थिए ।
स्थानीय व्यवसायीहरूले बिमा दाबी भुक्तानीका प्रक्रियाहरूलाई अझ सरल र प्रभावकारी बनाउन सुझाव दिएका थिए । त्यस्तै, ग्रामीण क्षेत्रका वडाहरूमा बिमा पहुँच विस्तारका लागि जनचेतना कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको थियो । अन्तरक्रिया तथा छलफल कार्यक्रमले गरुडा नगरपालिकाभर बिमा सेवा प्रभावकारी बनाउने योजना निर्माणका लागि सकारात्मक दिशा प्रदान गरेको छ ।
नगर प्रमुख र बिमा प्राधिकरणको प्रतिबद्धताले स्थानीय जनताको बिमा प्रतिको चासो र विश्वास बढ्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा गरुडा नगरपालिकको वार्ड नं.२ का वडाअध्यक्ष किसनन्दन सहनी, वार्ड नं.५ वडाअध्यक्ष रामबिनोद साह, नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत मुस्ताक आलम, नेपाल बिमा प्राधिकरण मधेश प्रदेशका सहायक
निरिक्षक रोशन कुमार महासेठ, रोमिला शर्मा लगायत बिभिन्न तह तप्का कर्मचारी, संचारकर्मी सहित सयकडौं मानिसहरुको सहभागिता रहेको थियो ।