रौशन कुमार चौधरी
मंसिर १९, रौतहट
रौतहटमा अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्टिूय दिवस मंगलबार विशेष कार्यक्रमका साथ मनाइएको छ । “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार” भन्ने मूल नाराका साथ कटहरिया नगरपालिकामा जनचेतनामूलक कार्यक्रम गरी यो दिवस भव्य रूपमा मनाइएको हो ।कार्यक्रम कटहरिया नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो ।
नगर उपप्रमुख रिता देवी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख अजय प्रकाश जैसवाल रहनु भएको थियो । कार्यक्रममा नगर प्रमुख जैसवालले अपाङ्गता भएका व्यक्तिहरूको सम्मानमा फुलमाला र दोसालाले स्वागत गर्दै उनीहरूको आत्मविश्वास र प्रेरणा बढाउन प्रयास गरेका थिए । वहाँले भने यो दिवस सन् १९९२ देखि नै विश्वभर अहिले सम्म मनाउदै आईरहेको बताउनु भयो । वहाँले भने विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कुल जनसंख्याको १६ प्रतिशत अपांगता भएका व्यक्ति छन् ।
अपांगता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपांगता भएका व्यक्तिहरु बञ्चित छन् । उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसङ्ख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार सात सय ४४ जना अपांगता भएका व्यक्ति छन् । जनगणनाको प्रतिवदेन अनुसार कूल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपांगता भएका व्यक्ति छन् । अपांगता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्टिूय जनगणनामा उल्लेख गरिएको छ ।
अपांगता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपांगताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकार भएका निकायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आइएको बताउनु भयो । त्यसैले इच्छाशक्ति बलियो भए अपाङ्गता भएका व्यक्तिहरूले पनि साधारण व्यक्तिहरूले गर्ने कुनै पनि काम सहजै गर्न सक्छन् भन्दै त्यसका लागि समाजले सकारात्मक सोच राख्नुपर्नेमा नगर प्रमुख जैसवालले जोड दिएका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार्न कटहरिया नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त
गरेका थिए । कार्यक्रमकी अध्यक्ष रिता देवी यादवले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता र योग्यतालाई उचित मूल्यांकन गर्दै रोजगारीका अवसर प्रदान गर्न कटिबद्ध रहेको बताइन् ।
उनले रोजगारसँगै सीप विकासका तालिमहरू प्रदान गर्न पालिका तत्पर रहेको जानकारी दिँदै सबैले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिईकी थिईन् । उनीहरूको जीवनस्तर सुधार्न हाम्रा प्रयासहरू निरन्तर रहनेछन् ।“ दिवसको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएका थिए । यसै अवसरमा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि शिक्षा, स्वास्थ्य, र सीप विकासका योजनाहरू ल्याउन गहन छलफल समेत गरेको थियो ।
कार्यक्रमको दौरान सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र उनीहरूको समावेशीता सुनिश्चित गर्न आवश्यक पहलहरूबारे विचार व्यक्त गरिएका थिए । कार्यक्रममा योजना शाखा प्रमुख रामनरेश यादब, प्रशासन शाखा प्रमुख सन्जिप साह, अपाङ्ग शाखा प्रमुख कौशल किशोर चौधरी, स्वास्थ्य शाखा प्रमुख दिनेश प्रसाद यादब लगायत स्थानीयवासी, अपाङ्गता भएका व्यक्ति, संघसंस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सहभागीहरूले यस्ता दिवसहरूले अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। यस कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई प्रोत्साहित गर्न तथा उनीहरूको योगदानलाई सम्मान गर्न विभिन्न सम्मानपत्र र सहयोग सामग्री वितरण गरिएको थियो। दिवसको समापनमा समावेशी र समृद्ध समाज निर्माणका लागि सबै पक्षले एकजुट भएर काम गर्नुपर्ने सन्देश दिइएको थियो।