रौशन कुमार चौधरी
मंसिर १९, रौतहट
कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले नगरवासीलाई दिनुभएको चुनावी प्रतिबद्धता अनुसार कटहरिया प्राथमिक स्वास्थ्य केन्द्र ९एज्ऋ) मा महिला डाक्टरको व्यवस्था गर्नुभएको छ । नगरप्रमुख जैसवालले डा. रूबी प्रधानलाई स्वास्थ्य केन्द्रमा हाजिर गराएर महिलाहरूको समस्या समाधानका लागि ठोस कदम चाल्नुभएको हो । नगर प्रमुख जैसवालले डा. प्रधानलाई प्राथमिक स्वास्थ्य केन्द्रमा हाजिर गराएर नगरपालिकाको स्वास्थ्य सेवामा नयाँ आयाम थप गरेका छन् ।
यस अघि नगरपालिकामा रहेका महिलाहरूले पुरुष डाक्टरसँग आफ्नो स्वास्थ्य समस्या खुलाउन अप्ठ्यारो महसुस गर्दै आएका थिए । यस समस्यालाई ध्यानमा राख्दै महिला डाक्टरको आवश्यकतालाई नगर प्रमुखले आफ्नो प्राथमिकतामा राखेका थिए । डा. रूबी प्रधानको आगमनसँगै अब नगरभित्र र वरपरका गाउँबाट आएका महिलाहरू निर्धक्क रूपमा आफ्नो समस्या खुलाउन र उपचार गराउन सक्नेछन् ।नगर प्रमुख जैसवालले भन्नुभयो, “हामीले महिला डाक्टर ल्याउन केही ढिलो गरे पनि डा. रूबी प्रधान जस्तो सक्षम र अनुभवी डाक्टर पाएका छौं ।
उहाँको आगमनले यहाँका महिला दिदीबहिनीहरूलाई स्वास्थ्य सेवा लिन सहजता हुनेछ ।“जैसवालका अनुसार नगरपालिकाको स्वास्थ्य सेवा क्षेत्रलाई अझ सुदृढ गर्न र गुणस्तरीय बनाउन थप पहलहरू गरिँदैछन् । महिला डाक्टरको व्यवस्था नगरप्रमुखको चुनावी प्रतिबद्धता कार्यान्वयन तर्फको एउटा महत्वपूर्ण कदम हो ।कटहरियाका स्थानीय महिला सेवा लिने क्रममा खुसी र उत्साहित देखिएका छन् ।
उनीहरूले महिला डाक्टरले आफूहरूको स्वास्थ्य समस्या बुझ्न र सम्बोधन गर्न सहज हुने बताएका छन् । “अब हामीलाई खुला रूपमा कुरा गर्ने अवसर मिल्नेछ,“ कटहरियाकी एक स्थानीय महिलाले बताइन् । नगर प्रमुख जैसवालले नगरपालिकाको स्वास्थ्य क्षेत्रमा सुधारका लागि आगामी दिनहरूमा पनि विभिन्न कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएका छन् । यता यस पहलप्रति नगरवासीहरूले खुशी व्यक्त गरेका छन्।
विशेषगरी महिलाहरूले यो कदमलाई आफ्नो स्वास्थ्यका लागि महत्वपूर्ण उपलब्धि मान्दै नगर प्रमुखप्रति आभार व्यक्त गरेका छन्। “महिला डाक्टरको अभावका कारण हामीलाई स्वास्थ्य समस्या बताउन असहज लाग्थ्यो, तर अब यस्तो समस्या रहने छैन,” स्थानीय महिलाहरूले बताएका छन्।डा. रूबी प्रधानले पनि महिला बिरामीहरूलाई गुणस्तरीय र समर्पित सेवा दिने विश्वास व्यक्त गर्दै नगरपालिकाको यो प्रयासप्रति धन्यवाद प्रकट गर्नुभयो ।
यस कदमले कटहरिया नगरपालिकाको स्वास्थ्य सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। नगरपालिकाले आगामी दिनहरूमा प्राथमिक स्वास्थ्य केन्द्रलाई थप अत्याधुनिक उपकरण र सेवाहरूले सुसज्जित गर्ने योजना पनि अगाडि सारेको छ। स्वास्थ्य सेवा सुधारसँगै नगरवासीहरूको जीवनस्तरमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।