रमेश कुमार यादब
मंसिर २०, रौतहट
रौतहटको सुन्दरपुर गढ़ीमाई मेलामा भारतीय भोजपुरी सिनेमाका सुपर स्टार तथा गायक खेसारीलाल यादव र नेपाली कलाकार रचना शिवाकोटीको संयुक्त प्रस्तुतिसँगै हजारौं दर्शक झुम्मिएका छन् । रौतहटको गढीमाई नगरपालिका ४ सुन्दरपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेला महोत्सवमा विहीवार कलाकार यादव र शिवाकोटीको संयुक्त प्रदर्शन भएको हो । चर्चित गायक तथा नायक यादवले गाएका दर्जनौँ गीतमा स्वयम खेसारीलाल यादव र नेपाली कलाकार शिवाकोटी संयुक्त रुपमा घण्टौंसम्म नृत्य गरेका थिए ।
कलाकार यादवको नृत्यले सबैलाई नचाएको छ । कलाकार यादवले बेलाबेलामा प्रस्तुत गरेका हास्यव्यंग्यले पनि दर्शकलाई निकै मनोरंजन दिएको थियो ।
भोजपुरी गायन तथा सिनेमाको कारण यादव विश्वमै चर्चित छन् भने शिवाकोटीले रौतहटका साथै मधेश प्रदेशमा राम्रो कलाकारको पहिचान बनाइसकेकी छिन् । कलाकार यादवको प्रस्तुति हुने भएपछि रौतहटका साथै बारा र सर्लाहीबाट हजारौँ दर्शक सुन्दरपुर पुगेका थिए । यसै गरी भारतको बिहारबाट पनि हजारौँदर्शक र दर्जनौँ कलाकारहरु सुन्दरपुर पुगेका थिए ।
खेसारीलालले आफ्नो प्रस्तुतिपछि रौतहटका दर्शकहरूको मायाका लागि आभार प्रकट गर्दै आगामी दिनहरूमा फेरि आउने वाचा गरेका छन्।
यो कार्यक्रमले क्षेत्रीय संगीत र मनोरञ्जनको महत्त्वलाई थप उजागर गरेको यादवले बताए । भोजपुरी सुपरस्टार खेसारीलाल यादवको हालैको प्रस्तुति गढीमाई नगरपालिकामा मात्र मनोरञ्जनात्मक कार्यक्रम नभई यस क्षेत्रको धार्मिक र पर्यटकीय महत्वलाई उजागर गर्ने एक महत्वपूर्ण घटना साबित भएको छ। गढीमाई नगरपालिका धार्मिक र सांस्कृतिक धरोहरका लागि प्रसिद्ध छ, विशेषगरी गढीमाई मन्दिर र यससँग सम्बन्धित ऐतिहासिक गढीमाई महोत्सवका कारण खेसारीलालजस्ता लोकप्रिय कलाकारको सहभागिताले यस क्षेत्रको सांस्कृतिक र धार्मिक गरिमालाई थप उजागर गरेको छ।
यस प्रकारका कार्यक्रमहरूले धार्मिक स्थलहरूलाई नयाँ पुस्तासँग जोड्न र स्थानीय समुदायलाई आर्थिक र सांस्कृतिक रूपमा लाभ दिलाउन ठूलो भूमिका खेल्छन्। खेसारीलाल जस्ता कलाकारहरूको सहभागिता यस क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान बनाउन मद्दत पु¥याउने विश्वास गर्न सकिन्छ। भोजपुरी सुपरस्टार खेसारीलाल यादव यसअघि रौतहटको मौलापुरमा आयोजित मधानी महोत्सवका लागि आएका थिए, जहाँ उनले आफ्नो उत्कृष्ट प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए। त्यसपछि उनले गढीमाई मेलामा उपस्थिति जनाएका छन ।
रौतहटमा यस पल्ट उनको दोस्रो प्रस्तुति रहेको छह । पञ्चवर्षीय गढीमाई मेला सुन्दरपुर जसले धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बोकेको छ, खेसारीलाल जस्ता चर्चित कलाकारहरूको सहभागिताले अझ जीवंत भएको छ। मेलामा उनले आफ्नो चर्चित गीत र ऊर्जावान प्रस्तुति दिएर ठूलो संख्यामा आएका दर्शकहरूको मन जित्न सफल भए । भोजपुरी जगतको ख्याती प्राप्त कलाकारहरूको यस प्रस्तुतिले धार्मिक आस्था र मनोरञ्जनलाई एकैसाथ प्रस्तुत गर्न सकेको उदाहरण पनि हो ।
गढीमाई नगरपालिका–४ सुन्दरपुरमा आयोजित पञ्चवर्षीय गढीमाई मेला मंसिर १७ गतेबाट सुरु भएको छ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको यो मेलाको औपचारिक उद्घाटन मंसिर १८ गते नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरेका थिए । यो मेला मंसिर २६ सम्म निरन्तर जारी रहने तथा गढीमाई मेला नेपालको मात्रै नभएर छिमेकी मित्रराष्ट्र भारत लगायतका लाखौं श्रद्धालुहरूको सहभागिताले भरिपूर्ण भएको आयोजकले बताए ।
मेलामा धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टल र मनोरञ्जनात्मक गतिविधिहरूले विशेष आकर्षण थपेका छन ।
गढीमाईका नगर प्रमुख श्याम प्रसाद यादव कलाकार खेसारी लाल यादवको घरसम्मै पुगेर निमन्त्रणा दिएको र आफू आउन बाध्य भएको कलाकार यादवले मञ्चमै सार्वजनिक गरेका छन् । कलाकार यादवसँगै शिवाकोटीको पनि निकै प्रशंसा भएको छ ।
रौतहटको दर्जनभन्दा बढी ठाउँमा गढीमाई मेला लागिरहेको भए पनि सबैभन्दा पुरानो सुन्दरपुरमा रहेको मेलालाई मानिएको छ । सुन्दरपुरमा १३औँ पटक मेला लागेको नगर प्रमुख यादवको भनाइ छ ।
कलाकारहरुको प्रस्तुति हेर्न लाखौँ मानिस आएपछि निकै धेरै संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको थियो । यस वर्षको मेलामा दश लाखभन्दा बढी श्रद्धालु भक्तजनहरु एवं दर्शक मेला भर्न आउने विश्वास आयोजकले लिएको मंच व्यवस्थापन समितिका संयोजक महेश साहले जानकारी गराएका छन ।