वर्तमानकाल सम्वाददाता्
मंसिर २२ गते ।
बाराको बरीयारपुरस्थित विश्व प्रसिद्ध महागढीमाई मन्दिरमा भाकल चढाउन भारतबाट नेपाल प्रवेश गर्न खोज्ने भक्तजनलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएको छ । मटिहार्वा नाकामा तैनात एसएसबीका जवानहरूले बलिका लागि महागढीमाई मन्दिरतर्फ ल्याइएका खसी, बोका, राँगा तथा अन्य पशुपक्षीलाई भारतीय भूभागमै रोकी नियन्त्रणमा लिएका छन् । एसएसबीले नियन्त्रणमा लिएका पशुपक्षी भारतीय प्रहरीलाई बुझाइएको जानकारी मेला दर्शानार्थीहरूले दिएका छन् । महागढीमाई मेला हेर्न र पूजाआजाका लागि मात्र भक्तजनलाई नेपाल प्रवेश गर्न दिइएको छ भने बलिका लागि ल्याइएका पशुपक्षीलाई रोक्न भारतको सर्वोच्च अदालतको आदेशको पालना गरिएको बताइएको छ ।
भारतको सर्वोच्च अदालतले बलिप्रथालाई रोक्न निर्देशन दिएपछि भारतीय सीमा सुरक्षाकर्मीले यस्तो कदम चालेको प्रतिक्रिया दिएका छन् । महागढीमाई मेला विश्वकै ठूलो धार्मिक र सांस्कृतिक महत्वको मेला मानिन्छ, जहाँ बलि प्रथा परम्परागत रूपमा हुँदै आएको छ । तर, यसपटक भारतीय प्रशासनको कडाइका कारण भारतीय भक्तजन बलिका लागि ल्याइएका पशुपक्षीसहित नेपाल प्रवेश गर्न नपाएको देखिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, तिर्थालुहरूलाई सहज बनाउन नेपाल प्रवेशका क्रममा कुनै अवरोध नगरिनुपर्ने निर्देशन दिइएको छ ।
उनले भने, “पर्साका सबै नाकाहरूमा ट्याक्टरमा आएका सामग्रीहरूको दर्ता गर्न र कुनै पनि तिर्थालुलाई दुःख नदिन आदेश दिइएको छ ।” त्यस्तै, बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पनि तिर्थालुहरूलाई सहज वातावरण उपलब्ध गराउन भारतबाट आउने सामग्रीबारे निगरानी राखिएको बताए । उनले भने, “भक्तिभावले ल्याइएका सामानमा कुनै रोकटोक छैन, तर व्यवसायिक प्रयोजनले ल्याइएका सामग्रीमा रोक लगाउन भन्सारसँग समन्वय गरिएको छ ।” साथै, तस्करहरूले मौका लिन सक्ने भएकाले सीमा क्षेत्रमा उच्च निगरानी राखिएको उनले जानकारी दिए।
महागढीमाई मेला धार्मिक तथा सांस्कृतिक महत्वको पर्व हो । बलिप्रथाका लागि विभिन्न पक्षले विरोध र समर्थन जनाउँदै आएका छन् । यसपटक भारतीय सर्वोच्च अदालतको आदेशका कारण सीमा क्षेत्रमा नयाँ चुनौती देखिएको छ । प्रशासनले परम्परागत संस्कृतिको सम्मान गर्दै कानुनी व्यवस्थाको पालनामा सन्तुलन कायम राख्न पहल गरिरहेको छ ।