बशीराम जैसवाल अनाथालय स्थित रहेको श्री आधारभूत विद्यालयमा ४ कोठे नयाँ भवनको नगर प्रमुख जैसवालद्धारा शिलान्यास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ मंसिर २३, आईतबार (१ साल अघि)
  • ४ पटक पढिएको
बशीराम जैसवाल अनाथालय स्थित रहेको श्री आधारभूत विद्यालयमा ४ कोठे नयाँ भवनको नगर प्रमुख जैसवालद्धारा शिलान्यास

रमेश कुमार यादब
मंसिर २३, रौतहट

रौतहट जिल्लाको गरुडा नगरपालिका–४,गरुडा स्थित श्री आधारभूत अनाथालय विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनको शिलान्यास शनिबार वैदिक विधि अनुसार पूजाआजा गरी सम्पन्न भएको छ । पुरोहितहरुद्धारा वैदिक विधिपूर्वक पूजाआजा गरी गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले भवनको शिलान्यास गर्नु भएको हो । नगर प्रमुख जैसवालले पूजाआजा गरी भवनको शिलान्यास गर्दै विद्यालय र अनाथालयको प्रगतिका लागि नयाँ भवनले ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

यस श्री बंशीराम जैसवाल अनाथालय मातहत रहेको विद्यालयका लागि नव निर्मित भवनको निर्माणले विद्यालयलाई मात्र नभई सम्पूर्ण अनाथ बालबालिकाहरूको शिक्षामा समेत ठुलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “रौतहट जिल्लाको एक मात्र अनाथालय रहेको यस विद्यालयलाई करिब एक दशकदेखि म व्यक्तिगत रूपमा सहयोग गर्दै आएको छु र आगामी दिनमा अझै प्रभावकारी योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” नगर प्रमुख जैसवालले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको विकासमा नगरपालिकाले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक, र विद्यार्थी सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

साथै उहाँले गरुडा नगरपालिकालाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न नगरपालिकाले योजना बनाएको र त्यसलाई कार्यान्वयनमा ल्याउन प्रयासरत रहेको पनि बताउनुभयो । ४ वटा कोठा र आधुनिक शौचालय र भरयाङ्ग सहितको यो भवन निर्माणका लागि कुल लागत ५५ लाख रुपैयाँ रहनेछ । विद्यालय भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा गरुडा उधोग बाणिज्य संघको अध्यक्ष पदको प्रत्याशि सन्तोष कुमार चौधरीका अनुसार भवन निर्माण कार्य चाँडै नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भवन निर्माणपछि विद्यालय र अनाथालयले थप व्यवस्थित रूपमा शैक्षिक तथा अन्य सेवा दिनसक्ने अपेक्षा गरिएको छ । श्री बंशीराम जैसवाल अनाथालय मातहत सञ्चालन हुँदै आएको यस विद्यालयले लामो समयदेखि आर्थिक रूपमा कमजोर तथा अनाथ बालबालिकाहरूलाई निःशुल्क शिक्षा र आश्रय प्रदान गर्दै आएको छ ।

विद्यालयको पूर्वाधार अभावका कारण समस्या झेल्दै आएको संस्थाले नयाँ भवन निर्माणपछि बालबालिकाको शिक्षामा थप गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरेको छ । यो शिलान्यास कार्यक्रमले स्थानीय समुदाय र नगरपालिकाको सहकार्यमा शिक्षामा गरिएको लगानी र प्रतिबद्धताको प्रतिबिम्ब देखाएको छ । यो शिलान्याससँगै विद्यालय र अनाथालय दुवैका लागि भौतिक पूर्वाधारमा थप सुविधा हुने आशा गरिएको छ ।

कार्यक्रममा स्थानीय बासिन्दा, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यो भवनले अनाथ बालबालिकाका लागि मात्र नभई गरुडा नगरपालिकाको समग्र शिक्षाको स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस