रमेश कुमार यादब
मंसिर २३, रौतहट
धार्मिक, सांस्कृतिक, र आस्थाको केन्द्रका रूपमा परिचित रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा रहेको दुईवटा प्रमुख स्थानमा लाग्ने गढीमाई मेला शनिबार देखि भव्य रुपमा सुरु भएको छ । बृन्दावन नगरपालिकाको वार्ड नं. ६ स्थित कमलपट्टी र वार्ड नं. ७ र ८ को सीमाना पर्ने धमौरामा हरेक पाँच वर्षमा लाग्ने यस ऐतिहासिक मेलाको उद्घाटन नगर प्रमुख बिनोद प्रसाद कुर्मीले गरेका छन् । एक विशेष समारोहबीच उद्घाटन गर्दै नगर प्रमुख कुर्मीले गढीमाई मेलाले धार्मिक, साँस्कृतिक र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने बताउनु भयो ।
धार्मिक, सांस्कृतिक र सामुदायिक महत्वका लागि परिचित गढीमाई मेलाले बृन्दावन नगरपालिकाको गरिमा बढाएको बताउनु भयो । उहाँले मेलाको उद्घाटन गर्न पाउनु आफ्नो लागि गर्वको विषय भएको बताउँदै मेलाको सफल सञ्चालनका लागि सबै पक्षसँग सहकार्य गर्न आग्रह गर्नुभयो । गढीमाई मेला नेपालकै एक महत्वपूर्ण धार्मिक र साँस्कृतिक पर्वका रुपमा परिचित छ । मेलामा देशका विभिन्न स्थानबाट मात्र नभई भारत लगायतका छिमेकी मुलुकहरूबाट समेत लाखौं श्रद्धालुहरू आउने गर्दछन् । मेलाको मुख्य आकर्षण गढीमाई देवीको पूजा, बलिदान र दर्शन हो । धार्मिक आस्थाका साथ मानिसहरूले आफ्नो इच्छाहरू पूरा गर्न देवीको पूजा गर्दै बलि प्रदान गर्ने परम्परा रहेको छ ।
मेलालाई व्यवस्थित र सुरक्षित बनाउन आयोजक टिमले विशेष तयारी गरेको छ । नगर प्रमुख कुर्मीले मेलाको व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिँदै मेलामा आउने दर्शनार्थीहरूले कुनै असुविधा भोग्न नपरोस् भनी विशेष ध्यान दिन आग्रह गर्नुभयो । मेलामा आउने दर्शनार्थीहरूलाई कुनै प्रकारको असुविधा नहोस् भनेर पायक पर्ने स्थानमा शौचालय, पानी तथा स्वास्थ्य सेवा उपलब्ध गराउन, सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन, र पार्किङ स्थलको व्यवस्थापन गर्न पनि आग्रह गर्नु भएको थियो । मेलाले धार्मिक पक्षसँगै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पु¥याउने विश्वास गरिएको छ ।
मेलाका क्रममा स्थानीय व्यापारीहरूले खाद्यपदार्थ, पूजाका सामग्री र अन्य सामानको व्यापार गर्ने अवसर पाउने भएकाले यसको प्रत्यक्ष फाइदा स्थानीय समुदायलाई पुग्नेछ ।गढीमाई मेला रौतहट जिल्लाको धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रतिविम्बका रूपमा रहेको छ । यसलाई स्थानीय तथा राष्ट्रिय स्तरमा अझ प्रचारप्रसार गरेर पर्यटनको विकासमा योगदान पुर्याउने नगर प्रमुख कुर्मीको प्रतिबद्धता रहेको छ ।
मेलाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको समेत आयोजना गरिएको छ । मेलास्थलमा स्थानीय कलाकारहरूको प्रस्तुति, धार्मिक गीत–संगीत र नृत्यले मेलाको रौनकता थप्नेछ । गढीमाई मेलाको सफल सञ्चालनका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र आयोजक समितिले सहकार्य गरेका छन् ।
मेलामा सहभागी हुन देशका विभिन्न भाग र छिमेकी मुलुकबाट श्रद्धालुहरू धमाधम आइरहेका छन् । उद्घाटन समारोहमा स्थानियवासी, धार्मिक गुरु, राजनीतिक प्रतिनिधिहरू, र सञ्चारकर्मीहरूको उत्साहजनक उपस्थिति रहेको थियो । परम्परागत बाजागाजासहित सांस्कृतिक कार्यक्रमले मेलाको उद्घाटन समारोहलाई थप आकर्षक बनाएको थियो ।