वर्तमानकाल सम्वाददाता
मंसिर २४ गते ।
पशुबलिको लागि विश्वप्रसिद्ध बाराको गढीमाई मेलामा यस वर्ष नेपाल र भारतका लाखौं श्रद्धालु भक्तजनहरू सहभागी भएका छन्। बारा प्रहरीले दिएको जानकारी अनुसार भक्तजनहरू पैदलयात्रा, साइकल, मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्टर, टेम्पो, ईरिक्शा, र बसजस्ता विभिन्न सवारीसाधन प्रयोग गरी मेला भर्न आएका छन्।
प्रहरीका अनुसार हालसम्म मेलामा कुनै गम्भीर किसिमको सवारी दुर्घटना नभएको र सुरक्षा व्यवस्थापन प्रभावकारी रहेको छ। बारा प्रहरी प्रमुख महेन्द्र खड्काले सुरक्षा निकायहरू, विशेषगरी प्रहरी र ट्राफिक प्रहरीले अहोरात्र गस्ती र ट्राफिक व्यवस्थापनमा सक्रिय भूमिका खेलेको जानकारी दिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराकी प्रमुख प्रहरी निरीक्षक नीलु दुवालका अनुसार मेलामा २० हजारभन्दा बढी सवारीसाधन पुगेका छन्। यस्ता सवारीसाधनमा साइकल, मोटरसाइकल, ईरिक्शा, अटो, टेम्पो, जीप, कार, भ्यान, ट्याक्टर, बस र ट्रकसमेत छन्।
उनले गढीमाई मन्दिर आसपास तीन किलोमिटर क्षेत्रमा मेला समितिले छवटा पार्किङ स्थल निर्माण गरेको र अन्य दर्जनौं अस्थायी पार्किङ व्यवस्थापन गरिएको जानकारी दिइन्। मेलाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन हुलाकी राजमार्गको बरियारपुरसम्म सवारीसाधनलाई बिस्तारै आवतजावत गराइएको छ। ट्राफिक व्यवस्थापनका लागि २२५ जना ट्राफिक प्रहरी परिचालन गरिएको पनि दुवालले बताइन्।
गढीमाई मेलामा भक्तजनहरूको भीडभाड भए पनि सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त राख्न प्रहरी प्रशासनले विशेष ध्यान दिएको छ। मेलामा कुनै पनि अप्रिय घटना नभएसम्म यो व्यवस्थापनलाई सफलता मानिएको छ।