वर्तमानकाल सम्वाददाता
पुस ०१ गते ।
नेपाल आयल निगमले आईतबार राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा समायोजन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य परिवर्तनसँगै स्वदेशी बजारमा प्रभावकारी मूल्य समायोजन गर्नुपर्ने आवश्यकता महसुस गर्दै निगमले पेट्रोलको मूल्य बढाएको र डिजेल तथा मट्टितेलको मूल्य घटाएको जनाएको छ ।
नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य समान प्रतिलिटर २ रुपैयाँले घटेको छ ।
निगमको नयाँ मूल्य सूचीअनुसार वीरगञ्ज, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज र धनगढीमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १५९ रुपैयाँ पुगेको छ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ ।
त्यसै गरी, सुर्खेत र दाङ डिपोअन्तर्गत पेट्रोल प्रतिलिटर १६१ रुपैयाँमा उपलब्ध हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ तोकिएको छ । त्यस्तै काठमाडौँ, पोखरा र दिपायल डिपोअन्तर्गत पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १६२ रुपैयाँ पुगेको छ । यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम भएको छ ।
यता, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ । निगमले वर्तमान मूल्य समायोजन गर्दा उपभोक्तालाई न्यूनतम मूल्य वृद्धि र निगमको घाटालाई व्यवस्थापन गर्न विशेष ध्यान दिएको जनाएको छ ।
नेपाल आयल निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ घटबढ भइरहेकाले मूल्य समायोजन अपरिहार्य रहेको स्पष्ट पारेको छ । निगमको अनुसार पेट्रोलियम पदार्थको आयात, ढुवानी र सञ्चालन खर्च बढिरहेको भए पनि उपभोक्तामाथि बढी भार नपरोस् भन्नका लागि डिजेल र मट्टितेलमा मूल्य घटाइएको हो ।
यसअघि पनि पेट्रोलियम पदार्थको मूल्य समायोजनमा सहुलियत अपनाउँदै आएको नेपाल आयल निगमले भावी दिनमा बजार परिस्थिति अनुसार मूल्य समायोजन गरिने जानकारी गराएको छ । नयाँ मूल्य दरसँगै देशभरिका पेट्रोल पम्प तथा निगमको वितरण केन्द्रबाट तोकिएको मूल्यमा इन्धन उपलब्ध गराइनेछ ।