रमेश कुमार यादब
पुस ०३, रौतहट
रौतहटको गरुडा नगरपालिकाले चिसोको मौसममा अति गरिब तथा विपन्न समुदायका नागरिकलाई राहतस्वरूप फाइबर कम्बल वितरण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ । नगर प्रमुख कन्थमनी प्रसाद जैसवालको नेतृत्वमा बुधबारदेखि सुरु गरिएको राहत अभियानले पहिलो दिन गरुडा नगरपालिकाको वार्ड नं.३ मलाहिटोलका ११० जना विपन्न परिवारलाई फाइबर कम्बल प्रदान गरेको छ ।
नगरपालिकाले जाडोका कारण बढी प्रभावित हुने अति गरिब तथा विपन्न वर्गका नागरिकलाई प्राथमिकतामा राखेर राहत वितरण सुरु गरेको हो । नगर प्रमुख जैसवालले अभियान नगरपालिकाका सबै वडाहरूमा सञ्चालन गर्ने बताउँदै नगरवासीलाई चिसोबाट सुरक्षित राख्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नगर प्रमुख जैसवालले भने, चिसो मौसममा सबैभन्दा बढी प्रभावित हुने वर्ग अति गरिब र विपन्न समुदाय हो । उनीहरूलाई जाडोबाट जोगाउन फाइबर कम्बल वितरण गरेर सघाउन पाउँदा खुसी लागेको छ । यो अभियान नगरका प्रत्येक वडामा पु¥याइनेछ र हाम्रा नागरिकको सुरक्षाका लागि नगरपालिकाले सधैं पहल गर्नेछ ।
पहिलो दिनमा ११० जना अति गरिब र विपन्न परिवारलाई फाइबर कम्बल वितरण गरेका छन । नगरपालिकाका नगर प्रमुख जयसवालले नगरमा लक्ष्य समूहका अति गरिब, विपन्न वर्गका परिवारलाई नगरका सबै वडामा राहत वितरणलाई निरन्तरता दिने बताएका छन ।
स्थानीयबासीले पनि नगरपालिकाको कदमको स्वागत गर्दै चिसोबाट जोगिन वितरण गरिएका फाइबर कम्बलले ठुलो सहयोग पु¥याउने बताएका छन । यस्तो पहलले नगरपालिकाको जनमुखी र समावेशी चरित्र झल्काएको छ । नगरपालिकाले यस्ता राहत कार्यक्रमहरूलाई निरन्तरता दिँदै विपन्न वर्गको जीवनस्तर उकास्न र चिसोको प्रभाव कम गर्न विभिन्न पहल गर्ने योजना बनाएको छ ।
साथै, अन्य आवश्यक सहयोगका कार्यक्रमहरू पनि सञ्चालन गर्न नगर प्रमुखले प्रतिबद्धता जनाएका छन् । अभियानले स्थानीय सरकारप्रति नागरिकको विश्वास बढाउने विश्वास लिइएको छ । कार्यक्रममा सोहि वार्डको पुर्वउपाध्यक्ष ननिपत सहनी, नेकपा एमालेको वार्ड प्रत्यायशि पारस सहनी, युवा नेता बलराम सहनी, समाजसेवी जयलाल सहनी, रत्नेश्वर प्रसाद साह, मंगल सहनी, बिरेन्द्र सहनी लगायत सयकडौं मानिसहरुको सहभागिता रहेको थियो ।