रमेश कुमार यादब
पुस ०४, रौतहट
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले आफ्नो कम्बल वितरण अभियानलाई निरन्तरता दिँदै चिसोको कठ्याङ्ग्रिदो मौसममा नगरवासीलाई राहत पु¥याउन महत्वपूर्ण कदम चालेका छन् । नगर प्रमुख जैसवालले आफ्ना नगरका नागरिकलाई चिसोको कारण कुनै समस्या नहोस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेका हुन् । नगर प्रमुख जैसवालले बिहीबार दोस्रो दिन गरुडा नगरपालिकाको वार्ड नं. ९ का सिसवा, श्रीपुर र नरकटिया टोलमा रहेका १२५ जना अति गरिब र विपन्न परिवारलाई घरदैलोमै पुगेर फाइबरका कम्बल वितरण गर्नुभएको छ ।
यस अभियानका क्रममा उनले विपन्न नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या सुन्ने र तिनलाई समाधान गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।अभियानको पहिलो दिन नगरपालिकाको वार्ड नं. ३ स्थित मलाहिटोलमा ११० जनालाई कम्बल वितरण गरिएको थियो । उहाँले भन्नुभयो, “यो अभियान नगरपालिकाका सम्पूर्ण वडामा पुर्याइनेछ र सबै गरिब तथा विपन्न परिवारलाई राहत पु¥याउनका लागि हामी कटिबद्ध छौं ।“नगर प्रमुख जैसवालले चिसोले विशेषगरी वृद्धवृद्धा, बालबालिका, अपांगता भएका व्यक्ति र आर्थिक रूपमा कमजोर परिवारलाई बढी समस्या पार्ने हुँदा राहत कार्यक्रमलाई ती वर्गहरूमा प्राथमिकता दिएको जानकारी दिनुभयो ।।
विशेषगरी, वृद्धवृद्धा, बालबालिका, र कमजोर परिवारका सदस्यहरूले यस कदमलाई अत्यन्त सह्राहनीय भनेका छन् । उनीहरुले नगर प्रमुखको यो कदमको खुलेर प्रशंसा गरेका छन् । “चिसोबाट जोगिन यो कम्बलले ठूलो राहत मिलेको छ,“ सिसवाका एक लाभग्राहीले भने ।नगरपालिकाको यो अभियानसँगै चिसोबाट उत्पन्न हुने स्वास्थ्य समस्या र अन्य कठिनाइलाई केही हदसम्म कम गर्न सकिने विश्वास लिइएको छ ।
नगर प्रमुख जैसवालले आगामी दिनहरूमा पनि यस्ता राहत कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनु भएको छ ।वर्तमानकाल दैनिक पत्रिकासँग कुरा गर्दै जैसवालले भने, “नगरवासीहरूको सेवा गर्न पाउनु मेरो कर्तव्य हो । यो अभियानलाई अझ प्रभावकारी बनाउने प्रयासमा हामी लागिपर्नेछौं ।“ त्यति मात्र नभएर कसैले पनि चिसोले दुःख भोग्न नपरोस् भन्ने उद्देश्यले हामी यो अभियानमा जुटेका छौं।”
उनले भने, “नगरका नागरिकलाई चिसोको समस्याबाट मुक्त गराउन यो हाम्रो प्राथमिकता हो । यो अभियानले गरिब तथा विपन्न परिवारको जीवनमा राहत पु¥याउन सहयोग पुर्याएको छ भने यसले नगरवासीहरूमाझ सकारात्मक सन्देश पुर्याएको छ ।