वर्तमानकाल सम्वाददाता
पुस ०६ गते ।
नेपाली खेलकुद इतिहासमै सबैभन्दा ठूलो स्पोर्टिङ इभेन्ट मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेसँगै शनिबार सकिएको छ । आयोजना, पुरस्कार राशी, सहभागी टिमको संख्या, लगानी अनि विदेशी खेलाडीहरुको आगमन र प्रदर्शनले पनि यसलाई अहिलेसम्मकै ठूलो खेल महोत्सवको रुपमा लिइएको छ । जहाँ जनकपुर बोल्ट्सले बाँकी ७ टिमलाई पछि पार्दै च्याम्पियन बन्यो । फाइनलमा जनकपुरले सुदूरपश्चिम रोएल्सलाई ५ विकेट हरायो ।
यसको नायक बने लाहिरु मिलान्था । ओपनर मिलान्थाले ८५ रनको सानदार पारी खेलेपछि सुदूरले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गर्दै पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखायो । त्रिवि क्रिकेट मैदानमा आयोजित समारोहबीच पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले विजेता जनकपुरलाई ट्रफी हस्तान्तरण गरे । काठमाडौंको धरहरा परिसरमा मंसिर १० गते एनपीएल ट्रफी अनावरण गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरेको यो ट्रफीमा सर्वोच्च शीखर सगरमाथा आधार शिविर क्षेत्र कालापत्थरको ढुंगा प्रयोग गरिएको छ । आयोजक क्यान सचिव पारस खड्काले एनपीएलको मुख्य आकर्षण खेलसँगै ट्रफी पनि रहेको बताएका थिए । हुन पनि ट्रफीको प्रयोग भएको कालापत्थरको ढुंगाले त्यतिबेलै सबैको ध्यान खिचेको थियो । ट्रफीलाई केवल खेलको हारजितसँगमात्र जोड्ने नभइ हिमाल संरक्षणको सन्देश दिन पनि सर्वोच्च स्थानको ढुंगा जडान गरिएको उनको भनाइ थियो ।
ट्रफीमा प्रयोग भएको ढुंगा आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले ल्याएका हुन् । ट्रफी अनावरण कार्यक्रममा शेर्पाद्वयलाई सम्मान गरिएको थियो । मंसिर १६ गतेदेखि भएको नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता आज सकिएको छ ।
प्रतियोगितामा ८ फ्रेन्चाइज टोली सहभागी थिए । र अन्ततः कालापत्थरको ढुंगाजडित पहिलो नेपाल प्रिमियर लिगको ट्रफी जनकपुर बोल्टस्को नाममा भएको छ । जनकपुरले ट्रफीसहित अहिलेसम्मको ठूलो पुरस्कार राशी १ करोड १० लाख प्राप्त ग¥यो ।
उपविजेता सुदूरपश्चिमले ५१ लाख र तेस्रो भएको कर्णालीले २५ लाख हात पा¥यो । चौथो चितवन राइनोजको भागमा १५ लाख प¥यो । कालापत्थरको ढुंगा ल्याएर बनाइएको एनपीएलको पहिलो ट्रफी उचाल्ने सौभाग्य मधेश प्रदेशको प्रतिनिधितव गर्ने जनकपुरले पायो । जनकपुरले त्यस्तो टिमलाई फाइनलमा हरायो जो सँग यसअघि आफैँ दुई पटक पराजित भएको थियो । एनपीएलमा नेपालको सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी टिम बनाइएको थियो ।
जसमा बागमतीको दुई टिम बाहेक हरेक प्रदेशको एक–एक टिम थिए । कीर्तिपुरको टीयू मैदानमा मात्र प्रतियोगिता भएपनि नेपालका सबै क्षेत्रका समर्थकहरुले एनपीएललाई निकै चासो र रोमाञ्चकताका साथ हेरे ।फाइनलअघि सम्म एक हार बाहेक सानदार प्रदर्शन गरेको सुदूरपश्चिमलाई जनकपुरले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै पराजित गरेको हो ।नेपाली खेलकुदमा सय करोड (एक अर्ब) को ट्याग दिइएको एनपीएलमा ८ टिम सहभागी थिए । ३० भन्दा बढी विदेशी खेलाडीहरु अनि विश्व चर्चित स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रशारण । चर्चित टिभी च्यानलमा प्रत्यक्ष प्रसारण हुँदा नेपाली खेलाडीको प्रदर्शन पनि विश्वभर हेर्न अवसर मिल्यो । यस्तै भारतीय स्टार शिखर धवनदेखि मार्टिन गप्टिल र जिमी नीशमजस्ता खेलाडीहरुले पनि नेपाल आएर एनपीएल खेले ।