रमेश कुमार यादब
पुस ०७ गते ।
रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा नं. ५ महम्मदपुरका वडा अध्यक्ष रामबिनोद साहले वडा अन्तर्गतका दुई योग शिविरका सहभागीलाई ट्रयाकसुट वितरण गर्नुभएको छ । योग अभ्यासलाई प्रोत्साहन गर्दै स्वास्थ्य र फिटनेसलाई प्राथमिकता दिनका लागि वडाध्यक्ष साहले महम्मदपुरस्थित गोपाल सेवा योग शिविर र शिवनगरधामस्थित कानु कल्याण योग शिविरका योगाभ्यासमा संलग्न १०० जनालाई ट्रयाकसुट प्रदान गर्नुभएको हो ।
वडाध्यक्ष साहका अनुसार, योग शिविरमा नियमित रूपमा सहभागी हुने व्यक्तिहरूको लागि यस वितरण कार्यक्रमले थप उत्साह थप्ने र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । “योग स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण छ, र हाम्रो वडामा यसलाई प्रोत्साहित गर्न सबै किसिमका सहयोग गर्ने प्रयास गरि रहेका छौँ,“ वडाध्यक्ष साहले वर्तमानकाल दैनिक पत्रिकासँगको
कुराकानीमा बताउनु भयो ।
वडाध्यक्ष साहले स्वास्थ्य जीवनशैलीलाई प्रवर्द्धन गर्दै नागरिकलाई योगतर्फ आकर्षित गर्न यस्तो पहल गरेका हुन् । उनका अनुसार योगले मानिसको मानसिक, शारीरिक र आध्यात्मिक विकासमा ठूलो भूमिका खेल्ने भएकाले वडाका स्थानीयवासीलाई यसतर्फ प्रोत्साहित गर्न यो कदम चालिएको हो ।
ट्रयाकसुट वितरण कार्यक्रमलाई वडाका स्थानिय बासिन्दा र योग शिविरका प्रशिक्षकहरूले स्वागत गरेका छन् । गोपाल सेवा योग शिविरका प्रमुख प्रशिक्षकका अनुसार, “यस प्रकारको सहयोगले योगाभ्यासमा संलग्न हुन चाहने अन्य व्यक्तिहरूलाई पनि प्रेरणा प्रदान गर्नेछ ।“शिवनगरधाम स्थित कानु कल्याण योग शिविरका सहभागीले वडाध्यक्ष साहलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यहरूको अपेक्षा गरेका छन् ।
सहभागीहरूले वडाध्यक्ष साहको यो पहललाई सराहना गर्दै नियमित योग अभ्यासका लागि अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरेका छन् । वडाध्यक्ष साहले भविष्यमा पनि वडा नं. ५ का जनताको स्वास्थ्य र समृद्धिका लागि यस्तै कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभएको छ । सो वितरण कार्यक्रममा वडाका अन्य प्रतिनिधिहरू, स्थानीय समाजसेवी, र योग प्रशिक्षकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले योगाभ्यासलाई निरन्तरता दिन र अन्य व्यक्तिहरूलाई पनि यसप्रति आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् ।