वर्तमानकाल सम्वाददाता
पुस ०९ गते ।
रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा किसानहरुका लागि मलखाद्य अभाव र नदिमा भइरहेको जथाभावी उत्खननको विषयमा विशेष छलफल सम्पन्न भएको छ । बृन्दावन नगरपालिका वडा नं. २ स्थित सार्वजनिक स्थल पुस्तकालय नजिक आयोजित यस छलफल बैठक वडाध्यक्ष सिकेन्द्र राउत कुर्मीको अध्यक्षतामा सम्पन्न भएको हो । छलफलमा नेकपा एमालेका मेयर प्रत्याशी प्रेमशंकर यादवले नेपाल कृषि प्रधान देश भए पनि किसानलाई सधैं मलखाद्ध अभावका कारण समस्यामा पर्ने गरेको बताउनु भएको थियो ।
उहाँले मलखाद्धको व्यवस्थापनमा पालिका प्रमुख विनोद प्रसाद कुर्मीले चासो नदेखाएकोमा आक्रोश व्यक्त गर्नु भएको थियो । उहाँले किसानहरूको समस्यालाई समाधान गर्न पालिकाले तत्काल कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनु भयो । यादवले भने, “कृषि विकास विना नगरपालिकाको समृद्धि असम्भव छ । ”त्यस कारण पालिकाको किसानहरुको मलखाद्ध तत्काल छिटोभन्दा छिटो उपल्बध गराई किसानको समस्या समाधान गर्न जोडदार माग गरेका थिए ।
सोहि छलफलमा मेयर प्रत्याशी यादवले नगरपालिकाको विकासका लागि नदिमा उत्खन गरिएको भए पनि ठेकेदारहरूले नियमकानुनको उल्लंघन गर्दै जथाभावी उत्खन गरिरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नु भएको थियो ।्मेयर प्रत्याशी यादवले नदिको ठेक्का लगाएर विकासका काम गर्नुपर्छ भन्ने सहमति भए पनि ठेकेदारहरुले नियम उल्लङ्घन गर्दै जथाभावी उत्खन गरिरहेकोमा चिन्ता व्यक्त गरेका थिए ।
वहाँले भने यस कार्यले पर्यावरणीय संकट निम्त्याउने भएकाले तत्काल रोक लगाउन नगर प्रमुख कुर्मीलाई आग्रह गर्नु भयो । नेकपा माओवादी केन्द्रका मेयर प्रत्याशी रामप्रसाद पटेलले पनि कार्यक्रममा सम्बोधन गर्दै नगरपालिकाको लापरवाहीका कारण स्थानीय बासिन्दा सधैं समस्यामा परेको बताउनु भयो । उहाँले पालिकाका कर्मचारीहरूलाई आफ्नै कार्यालयबाट सेवा प्रवाह गर्न आवश्यक व्यवस्था मिलाउन नगर प्रमुखलाई आग्रह गर्नुभयो ।
पटेलले नगरपालिकाको पुराना समस्या समाधान गर्दै नयाँ सुधार ल्याउन सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको अध्यक्षता गरेका वडाअध्यक्ष सिकेन्द्र राउत कुर्मिले छलफलमा प्रस्तुत सुझाव र समस्याहरूलाई प्राथमिकतामा राखेर समाधान गर्ने सहमति जनाउनु भयो । उहाँले किसान र नदिको समस्याको समाधानका लागि पालिकाले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यो छलफलले किसानको समस्यालाई समाधान गर्न र नदिमा भइरहेको जथाभावी उत्खन रोक्न पालिकाले चाँडो कदम चाल्ने आशा जनाउँदै समापन भएको छ ।
किसान र पर्यावरणीय व्यवस्थापनका विषयमा भएको यो छलफल बृन्दावन नगरपालिकाको आगामी नीति र योजनाको लागि महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ । वडाअध्यक्ष कुर्मिले भने भोली बुधबार बिहान ११ बजे यस सन्दर्भमा नगर प्रमुख कुर्मिलाई ज्ञापनपत्र बुझाउने योजना रहेको जानकारी दिनु भएको हो । ज्ञापनपत्र मार्फत समस्या समाधान नभएन भने चरण बद्धरुपमा आन्दोलन गर्ने जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा बृन्दावन नगरपालिकाको वार्ड नं.३ का वडाअध्यक्ष हरिनरायण प्रसाद साह, सोहि वार्डको वडासदस्य बिरेन्द्र प्रसाद यादब, स्थानिय समाजसेवी मनोज प्रसाद पटेल, कमलदेव साह, किसान, राजनैतिक दलका प्रतिनिधि, र स्थानीय सरोकारवालाहरुका लगायत सयकडौं स्थानियहरुको सहभागिता रहेको थियो ।