वर्तमानकाल सम्वाददाता
पुस १०, रौतहट
रौतहटको फतुवा विजयपुर नगरपालिका( १ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । बकैया नदीको ‘ड्याम’मा स्थानीय समाजसेवी गणेश महराले दान गरेको १० धुर जग्गामा ०६४ सालमा दलित प्राथमिक विद्यालय स्थापना भएको हो ।विद्यालयमा कुनै किसिमको फर्निचर तथा भवन नभएकै कारण अध्ययन गर्ने बालबालिका भुइँमा बोरा ओछ्याएर पढ्दै आएका छन् । भवनको नाममा दुईवटा स(साना छाप्रा छन् । अहिले पनि सो विद्यालयमा अध्ययन गर्ने बालबालिका भुइँमा नै बसेर अध्ययन गरिरहेका छन् ।
सो विद्यालयका कक्षा तीनमा अध्ययनरत रविताकुमारी मुखियाले पढ्ने वातावरण नै नभएको बताइन् । विद्यालयका समस्याप्रति स्थानीय सरकार उदासीन भएका उनको गुनासो छ ।स्कुलमा डेस्क, बेन्च, भवन, शौचालय केही पनि नभएको उनले गुनासो गरिन्। अर्का विद्यार्थी सुवोधकुमार पटेलले पनि फर्निचर अभावमा पढ्न कठिनाइ भएको बताए । अहिले फर्निचर र भवन मात्र भए पनि पढ्न सहज हुने पटेलले बताए।
बाल विकास कक्षामा अध्ययन गर्न बालबालिकाले बोरा लिएर जाने गरेका छन् । घरबाट बोरा नल्याउनेले चिसो भुइँमा बस्नुपर्ने बाध्यता रहेको निमित्त प्रधानाध्यापक हीरालालप्रसाद यादवले बताए ।हाल उक्त विद्यालयमा चारजना बाल विकास शिक्षिका, दुई संघीय अनुदानका शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् । स्थापना भएको १७ वर्षमा सो विद्यालयमा हालसम्म एकजना पनि स्थायी शिक्षक छैनन् ।
विद्यालयमा अध्ययन र अध्यापन गराउन एकदमै असहज भएको प्रधानाध्यापक यादवले बताए । विद्यालय स्थानीय तहमातहत आएको आठ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्थामा परिवर्तन नहुनु राजनीतिक मतभेद भएको उनको बुझाइ छ ।सोही विद्यालय
स्थानान्तरणका लागि ०७४ सालमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित फतुवा विजयपुर नगरपालिका( १ का तत्कालीन वडाध्यक्ष सञ्जय साहले चार कट्ठा जमिन खरिद गरेर पाँचकोठे भवन बनाएका थिए ।
तर, उक्त जमिन रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साहको तराई मधेश समृिद्ध प्रतिष्ठानका नाममा खरिद गरेका कारण विद्यालय सार्न नसकिएको प्रधानाध्यापक यादवले जानकारी दिए । विद्यालयका नाममा बजेट लिएर जमिन र भवन विद्यालयको नाममा नगर्दा विद्यार्थीले सास्ती खेप्नुपरेको प्रधानाध्यापक यादवले बताए ।